नेपाली भाषामा ह्रस्व र दीर्घको किन आबश्यकता छैन

फेसबुकमा केदार शर्माले लेखेको यो कमेन्ट पढे पछि यसको बारेमा केही लेख्न मन लाग्यो ।

“नेपाली अनलाइन” हरू हो, शुद्ध लेख्न लगाओ, हिज्जे परीक्षक राख, बरु मिलेर ‘स्पेलिङ चेकर’ बनाउन खर्च गर, तर बिन्ती छ, भाषाको दोहोलो नकाढ।

भाषा शुद्द हुनु पर्छ, यसमा कसैको दुई मत हुदैन । भाषा शुद्द नभएमा भन्न खोजेको कुराको गलत अर्थ लाग्न सक्छ । त्यस्तो हुन नदिन भाषाका नियमहरुलाई सजिलो र सबैले बुझ्ने गरेर निर्माण गर्नु आबश्यक हुन्छ । तर, “श्राद्धमा बिरालो बाँध्ने” उखानलाई चरितार्थ गरेर भाषालाई शुद्द बनाउनु भनेको अहिलेको जस्तो अबस्था आउनु हो। मेरो बिचारमा, नेपाली भाषाको क्लिष्टताका यसको ‘स्पेलिङ चेकर’ बनाउन अहिलेसम्म नसकिनुले पनि जनाउछ ।

पृष्टभूमि

बाटोको एकै ठाउमा धेरै गाडीको दुर्घटना भयो भने सडक भिभागले ड्राइभरको गल्ति नभएर बाटोको पो समस्या हो कि भनेर अनुसन्धान शुरु गर्दछ । बाटोको समस्या भएमा बाटोको मर्मत गरिन्छ भने ड्राइभरहरूकै गल्ति भएको प्रमाणित हुन गएमा सोही अनुरुप सूचना र प्रशिक्षण दिइन्छ । सडकमा जस्तै भाषामा पनि धेरै जना झुक्किने र सबै भन्दा बढी गल्ती हुने शब्द वा नियम आफैँमा गलत हुन सक्ने सम्भाबना धेरै हुन्छ । ब्यक्तिगत रुपमा भन्नु पर्दा, मैले जीवनभर प्रयोग गरेको नेपाली भाषामा मलाई अधिकांश नियमहरु अनाबश्यक लाग्ने गरेको छ ।

आज, नेपाली भाषामा सबै भन्दा बढी गल्ती हुने र कुनै कुनै शब्दमा कसैले पनि यही सही हो भनेर किटान गर्न नसक्ने ह्रस्व र दीर्घको बारेमा कुरा गरौँ। ह्रस्व र दीर्घको गल्ती एक दुई जनाले होइन प्राय: सबैले गरेका हुन्छन । किनकी, यसका नियम स्पष्ट छैनन् र दुख: लाग्दो कुरा, प्राय: सही लेख्न पर्ने आबश्याकता पनि पर्दैन ।

ह्रस्व र दीर्घको समस्या नेपाली लेखन पद्धतिमा रहेको सबै भन्दा जटिल पक्ष रहेको कुरा प्रा. डा. व्रतराज आचार्यले पनि मानेका छन् । ह्रस्व र दीर्घका अनेकन नियमको जानकारी नभए पनि अनेकौ नेपाली लेखकहरुको लेखकीयत्वमा यसले कुनै असर नागेरेको प्रा. आचार्यले स्वीकार गर्दछन ।

अलिक व्याकरणका जानकार बाहेक अरुलाई ती गल्तीले कुनै असर पनि गर्दैनन । केही उदाहरण हेरौं:

१७ वटा बिध्यार्थी संगठनले लेखेको पत्रमा १०० वटा ह्रस्व र दीर्घ गल्ती किन भेटिए ?

17 student group

चिठ्ठीमामात्र होइन प्रकाशित साहित्यिक कृतिको यो बिबेचना हेर्नुहोस्:

व्याकरणीय गल्तीका कारण हरफैपिच्छे दाँतमा ढुंगा लागेजस्तो हुन्छ। गोविन्दराज भट्टराईको भूमिकामा पनि त्यही हविगत भएको छ। कवितामा यस्तो गल्ती क्षम्य हुँदैन। जोड्नुपर्ने शब्दलाई छुट्याउने र छुट्याउनुपर्ने शब्दलाई जोड्ने गल्ती त अनेकौँ ठाउँमा भएका छन्। ह्रस्व-दीर्घका प्रयोगलाई पनि सारै खेलाँची गरएिको अनुभव हुन्छ। यस्ता असावधानीले कृतिको स्तर खस्किएको छ।

सम्भावना बोकेका कविता“को त यस्तो हाल छ भने अरुको के कुरा गर्नु !

तथ्य

  • अधिकांश नेपालीलाई “रु” र “रू” वीचको फरक थाहा छैन । खासमा, यो फरक थाहा हुन आबश्यक पनि छैन किनकी जे लेखे पनि आखिर पढ्ने त रु (roo) नै हो ।
  • अधिकांश शब्दमा ह्रस्व वा दीर्घ लेख्दा शब्दको अर्को अर्थ लाग्दैन ।  जस्तै  “पानी” लाई “पानि” लेख्दा अर्कै चीज भन्ने अर्थ लाग्दैन । “बाहिर जाउ” भन्दा वा “बाहीर जाउ” भन्दा वा “बाहीर जाऊ” वा “बाहिर जाऊ” जे भने पनि आखिर एउटा भन्दा दुई अर्थ लाग्दैन ।
  • सबै ह्रस्व वा सबैलाई दीर्घ लेख्दा अर्थमा फरक हुने केही शब्दहरु पनि सन्धर्वले बुझ्न सकिन्छ । जस्तै “फूल” र “फुल” बीचमा अर्थ फरक भए पनि फूलपाती, फुलपाती, फूलपाति र फुलपातिमा  के फरक छ र ?  मैले बुझे अनुसार “कुखुराको फूल ल्याउ” भनेर अर्हाउदा कोहि पनि फुलबारी तिर जाँदैन ।

यस्तो हुँदा हुँदै पनि किन हामी ह्रस्व र दीर्घका पछि दौडिरहेका छौं ? ह्रस्वमात्र वा दीर्घको मात्र प्रयोग गरिदियो भने “बार्हखरी” घटेर “दशखरी” भएर पढ्न कति सजिलो हुने थियो !

मलाई यी ह्रस्व र दीर्घका कारणले भाषामा मीठास् थपिएको छ भन्ने घमण्ड थियो तर एक अंग्रेजी मित्रले हामी गफ गरेको झगडा गरेको जस्तो सुनिन्छ भने पछि भने त्यो घमण्ड पनि चकनाचूर भएको छ ! आखिर (आखीर) चकनाचूर भए पनि (पनी) चकनाचुर भए पनि(पनी) कुरा एउटै हो नी (नि) होइन ?

अन्त्यमा – “नेपाली भाषाविदहरु” हो, सजिलो नियम बनाओ, हिज्जे परीक्षक राख्न नपरोस, बिन्ती छ, नेपाली भाषाले पनि संस्कृत भाषाको नियती भोग्न नपरोस् ।

यसै सन्धर्वमा दुई बर्ष अघिलेखेको यो लेख अझै पनि उत्तिकै सान्धर्भिक छ – नेपाली भाषाको उत्त्थनामा जुटेका, भाषाको ‘सत्यानाश गर्ने’ इन्टरनेट जमात

आगामी दिनमा नेपाली भाषाका अन्य अनाबश्यक पक्षहरुको बारेमा बहस गरिने छ । अहिलेलाई ह्रस्व र दीर्घका बारेमा कमेन्ट गर्नुहोला, धन्यबाद !

अपडेट १ –  अलिक खोजि गर्दै जाँदा यस बिषयमा भाषाविदहरु बीच छलफल भएको रहेछ र यसलाई सरली करण गर्ने सहमति पनि भएको रहेछ । कति सरल भएछ त — ल हेर्नुहोस् :

… समस्त शब्दका घटकका रूपमा आउने अविकारी पूर्व पदको अन्त्यमा दीर्घ नै लेख्ने अनि संयुक्त क्रियामा घटकका रूपमा आउने पूर्वकालिक क्रियाहरू पनि (पद वियोगका अवस्थाका)  दीर्घ लेख्ने नियम अपवादहरूको न्यूनीकरणसँग सम्बन्धित नियम हुन् ।

बुझ्नुभो ?

अपडेट २ – ट्विटरमा एक मित्र अनिस आर्यन ले एउटा उदाहरण दिनु भएको थियो,

“एक दिन मेरो घर एक दिन आए। मैले केही दिन खोजेँ। ती दिनले लिन मानेनन्।अर्को दिन पनि तिनै दिन टुप्लुक्क आइपुगे।”

मेरो बिचारमा यस्तो वाक्य न बोलिचालिमा प्रयोग गरिन्छ, न लेखाइमा नै । तै पनि कुन “दिन” ले “दुखि” भन्ने बुझाउँ छ र कुन “दिन” ले समय भन्ने बुझाउँछ र कुन चाँहि “दिन” ले दिने कार्य भन्ने बुझाउँछ भन्ने कुरा पत्ता लगाउन कुनै पनि समस्या देखिंदैन ।

सबैले बुझ्ने बनाउनको लागि “एक दिन मेरो घर एक दुखि मानिस आए। मैले उनलाइ केहि दिन खोजेँ। तर, ति दुखि मानिसले लिन मानेनन् । अर्को दिन पनि तिनै दुखि मानिस टुप्लुक्क आइपुगे।” पनि भन्न सकिन्छ ।

din example

3 thoughts on “नेपाली भाषामा ह्रस्व र दीर्घको किन आबश्यकता छैन

  1. बोल्दा जे जस्तो बोले पनि लेख्दा चाहि पढे लेखेकाले शुद्ध लेख्ने बानी बसाले राम्रो हुने थियो तर त्यतातिर ध्यान गएको देखिन्न अझ अंग्रेजी माध्यमबाट पढ्ने केटा केटीहरुले नेपालीमा ह्रस्व दिर्घ गल्ति गरेर लेखेको देख्दा हामी नेपालीमा कति कमजोर छौं भन्ने सावित हुन जान्छ यसरी पनि हाम्रो भाषा लेखन चलेको छ भन्दा मुण्टो बटार्ने विद्वान शिक्षाविद पनि हाम्रो अगि पछि मुक दर्शक बनेर बसेका होलान शायद भाषा प्रति कसैको सरोकार नभएर नै धेरै अशुद्धि हुने गरेको हो कि भनेर अनुमानसम्म लाउन सकिन्छ त्यसैले पढे लेखेकाले जुनसुकै कुराको सिर्जना गर्दा भाषालाई ख्याल गरि अशुद्धि हुन नदिन भरसक प्रयास गर्ने बानी बसालौं र अरुलाई पनि असुद्धिको बारेमा जाने बुझेसम्म बुझाउने प्रयास गरौं मेरो तर्फबाट यही सादर अनुरोध छ \

    • शुद्द त हुनै पर्छ तर शुद्द के को लागि, कति हदसम्म भन्ने पनि कुरा पनि आउछ \

      बोली र लेखाइ संधै फरक नै हुन्छ \ बोलीका भाषा छिटो छिटो परिवर्तन भइ रहने हुन्छन भने लेखाइ लामो समय सम्म परिवर्तन हुनु हुँदैन \ तर, भाषालाई सरलीकरण भने गर्नै पर्छ \ भाषा जति क्लिष्ट भयो त्यति लोप हुने सम्भावना रहन्छ \

Comments are closed.