लोकबहादुर खड्का आदिवासी र जनजातिको परिभाषा खोज्दै

निम्न चिठ्ठी सर्लाहीका लोकबहादुर खड्काले राज्य पुनर्संरचना आयोगका सदस्यहरुलाई पठाएका हुन। जातीय आधारमा राज्य पुनर्संरचना गर्दा हुने समस्याको एउटा उदाहरणको रुपमा यो चिठ्ठीलाइ लिन सकिन्छ । यो चिठ्ठी पढ्दा जातजाति भन्नेकुरा कति सम्म छ्यासमिस हुन सक्छ र अन्तर्जातीय बिबाहको अहिलेको गति यही रुपमा बढ्ने हो भने आजको २०-३० बर्ष भित्रनै जातीय आधारमा राज्य पुनर्संरचनाको कुनै अर्थ नै रहने छैन भन्ने बुझ्न गाह्रो हुदैन।

faces_in_nepal

***

शेर्पिनी आमा र क्षेत्री बाउको कोखबाट जन्मेर, पल्लो किराँत हुँदै सर्लाहीको लालबन्दीमा बाआमाले चलाएको टहराको होटलमा भात बेच्न सहयोग गर्दै हुर्कें म। रात्रिबसमा पूर्वतिर ओहोरदोहोर गर्दागर्दै इटहरीमा होटल गर्ने बान्तवा राईकी छोरीसँग घरजम गरें। सुने अनुसार मेरा आमातिरका पुर्खा तिब्बततिरबाट सय वर्ष जतिअघि हिमाल काटेर नेपाल भित्रिएका रे! बातिरका भने कर्णाली क्षेत्रबाट ६-७ सय वर्ष पहिले भैंसी चराउँदै पूर्व आएका हुन् रे! मेरो शरीरमा यी दुवैको रगत छ र आफ्ना पुर्खाप्रति गर्व छ। पढाइ र रोजगारीको अवसर खोज्दै काठमाडौं पसेका हामी मेरो एउटा सानो जागिर र बुढीको तरकारी पसलको कमाइबाट दुःखले डेराको जिन्दगी बिताउँदैछौं।

अहिले संविधान बनाउने र राज्य बाँड्ने कुरा पत्रिकामा पढ्दा मनमा आएका केही कुरा सोध्न मन लाग्यो, हामी को हौं? आदिवासी र जनजाति छुट्याउने आधार के-के हुन्? मातृभाषाको आधारमा भन्ने हो भने मेरो मातृभाषा शेर्पा हो। बिहेपछि बान्तवा राई भाषा पनि सिकें। सस्तो अङ्ग्रेजी बोर्डिङमा पढ्ने हाम्रा केटाकेटी घरमा नेपाली बोल्छन्। जीवशास्त्रको आधारमा म शेर्पाकी छोरीको छोरो र राईकी छोरीको बुढो हुँ। म र मेरा बा कसरी आदिवासी होइनौं? खानपिनको आधारमा भन्ने हो भने मेरो घरमा ओसप्पै चल्छ। अनुहारकै आधारमा भन्ने हो भने मेरी आमालाई चिन्ने सबैले मेरो अनुहार आमाको जस्तै भन्छन्। छोरी आमा जस्ती छ र छोरो मेरो शेर्पा मामा जस्तो। गरिबी र दुःखको आधारमा भन्ने हो भने हामी दुई छाक जुटाउन कठोर सङ्घर्ष गरिरहेका छौं। २०६३ मा भएको तराईको हुलदङ्गाताका होटल बन्द गरेर बाआमा भोकभोकै मामाघर पुगेका थिए।

मेरो सालोले नयाँ संविधानमा राज्य पाउने, मेरा मामाका सन्तानले जागिरमा कोटा पाउने, मेरो लालबन्दीको घरधनी जमिनदार झाले सेनामा आरक्षण पाउने र मेरा काठमाडौं बुद्धनगरका घरबेटी सुन व्यापारी तुलाधरका छोराले सरकारी कोटा पाउने अनि म गरिबको बच्चोले थरकै कारण विभेद सहनुपर्ने?

बलजफ्ती कागजमा लेख्दैमा हुन्छ? मेरा पुर्खाको योगदान यो माटोका लागि कसैको भन्दा कम छैन। आइएलओको कुन धाराले हामी गरीबलाई शासक हौ भनेको छ? के हो आदिवासी र जनजातिको परिभाषा? के हो छुट्याउने आधार? कसैले व्याख्या गरिदिनुभए आभारी हुने थिएँ।

लोकबहादुर खड्का सर्लाही, हालः काठमाडौं

5 thoughts on “लोकबहादुर खड्का आदिवासी र जनजातिको परिभाषा खोज्दै

  1. हो, लोकबहादुर खड्का को हुन, जाति, जनजाती, आदिवासी को हुन र यिनलाई कुन राज्य दिने भन्ने कुरा टुंगोमा पुर्याउन सकिन्छ भने जातीय राज्यको टुंगो आफैं लागि हाल्छ !

  2. पहिलो कुरा बाउ ख्ड्का भएपछि ,तपाई खड्का छेत्री भै हाल्नु भ्यो नेपाल्को व्य्वस्था र संसारको धेरै मुलुक पुरुष प्रधान देशको अहिले सम्मको नियम कानुन अनुसार र छेत्री बाहुन नेपाल्का मुल्बासी आदिवासी नभएपछी कसरी तपैइ आदिवासी हुनु भयो कुन बन्सजको अधारमा ?के नेपालि चेली बेलायती सँग बिहे गरे उस्को छोरो नेपालि हुन्छ ??त्यो त स्वोत बेलायती गोरा हुन्छ ?आदिवासी भनेको जुन ठाउमा सबै भन्दा पहिला त्यहाको खोलानाला ,भिर पखेरामा ,बन्जाङल सँग साईनो गास्ने हरू हुन त्यसैले नेपाल्को ईतिहास पल्ताउदा कतै पनि बाहुन छेत्रीको भिर पाखा ,जमिन सँग नाम् निसान छैन् अहिले राज्यको हरेक राज्यसन्यन्त्रामा कुन्दली मारेका हरूको नाम् यहाँको भिर पाखामा हुनु पर्ने हो किन त छैन् ? तर हिन्दूबादीको विस्तार संगै अहिले धेरै ठाउँ लाई स्थानिय भाशाका नाम् हताई हिन्दू धर्म ,खशा भाशाको नाम् ले लत्पताउने दुश्कार्य भएको छ,यदी बाहुन छेत्री हरू नेपाल्का भुमी पुत्र भए खोइ त बुद्ध्ह धर्मको अनुसरण गरेको ?किन भारतमा उत्पादित हिन्दू धर्मलाई मरिहत्ते गरेको ?किन राइ मगर,लिम्बु जस्ता हरू भारत मा छैनन् ,छेत्री बाहुन भारत भरी छन् त ?के ती बाहुन छेत्री नेपाल् बाट बसाइ सरेका हुन भारत्मा ?जात जाति छुटाउने त हिन्दू धर्म को बर्ण व्यवस्था अनुसार्नै हो के तपाइ त्यो त्याग्न सक्नु हुन्छ ??आफैले बनाको खाल्दोमा आफै पर्दा कस्तो हुदो रहेछ् ?अरको जनजातिको परिभशा नेपाल्को छेत्री बाहुनको धर्म ,सन्स्क्रिती ,भाशा सबै राष्ट्रले मानी रहेको छा मानु पार्ने नियम छा त्यसैले खड्का जनजाति हुन सक्दैन मगर् ,गुरुङको भाशा लिपी धर्म लाई राज्यले सरक्छन होईन बिनास गरेको छा यसरी राज्य द्वारा पाखा पारियेका जात जाति हरूलाई जनजाति मानियेको छा उनिहरुको न त राज्यमा पहुछ छा नत भाषा को मान्यता छा नत कुनै सुबिधा छा संसार भर अपबाद को रुपमा रहेको बिबिध कुरा हरू जस्तै अन्त्रजातिय बिबहा लाई लियेर कसरी आदिवासी जनजातिको परिवासा खोज्दै हुनुहुन्छ ,अधिकार सबैले पाउनु पार्छ तर त्यस्को बस्तु इस्थती हेर्दा बहुसन्खुअकलाई हेर्ने की कम मतलाई चुनाब्मा किन जित्ने ले राज गर्छ ??अरको त्यतिको लेख्ने मान्छे असिक्षित पक्कैइ होईन गरिबीको रेखा मुनि रहेको लाखौं आदिवासी जनजाति हरू जो तपाईं जस्तो लेख्न सक्ने पात्र पत्रिका पढ्न सक्ने कोम्पुतरको क सम्म नदेखेका जनजातिको कुरा कस्ले सुन्ने ??

    • म aadivaasinepali को कुरासं सहमत छु …
      आदिबासीलाइ अधिकार दिनको लागि “राज्यको नाम” मात्रै दिएर पुग्दैन अरु बिबीध कुरामा ध्यान पुर्याउनु पर्छ | तर यदी आदिबासीको नाममा राज्यको नामाकरण भएमा तेही कुरामा मात्र झगडा गरेर मुख्य कुरा – जातीय अधिकार, सम्मान आदिको बारेमा ध्यान कसैले दिने छैन —

      तेसैले, राज्यको नामाकरण भौगोलिक आधारमा होस् … जातीय अधिकार, सम्मान आदिको लागि भिन्दै प्रकारको फूलप्रुफ ब्यबस्था होस्

  3. खड्‍का जिले खड्का‍ किन लेखेको त? सेर्पा/ राइ लेखे भैहाल्‍यो नि। एउटा कुरा याद गर्नु खड्‍का जि सबै तपाइ जस्‍तै ठिमाहा छैनन्‌। र अन्‍तर जातिय विवाह पनि गरेका छैनन्‌, उनिहरूको आदिम भुमीछ, भाषा छ, सँस्‍कार र सँस्‍कति जिवित, यता न उता तल न माथि भिरको चिन्‍डो भने जस्‍तो कुरा गरेर गोलमटोल कुरा नगर्नुस। सम्‍पुर्ण आदिवासिहरू तपाइसँग सति जान सक्‍दैनन्‌।

    • कृष्ण जी , “सम्‍पुर्ण आदिवासिहरू तपाइसँग सति जान सक्‍दैनन्‌।” भन्ने कुरा ठिक हो ….
      तर, सम्पूर्ण तपाईले भनेका जस्ता “ठिमाहा” पनि तपाई जस्ता आदिवासिहरूसँग सति जान सक्‍दैनन्‌ नि होइन र ??

Leave a Reply

Your email address will not be published.