एफेयर शुरु भएको नौ वर्षपछि नेपाली सुपरस्टार राजेश हमालले आफ्नी प्रेमिकालाई सार्बजनिक गरेका छन् । यही बुधबार उनले सो प्रयोजनको लागि काठमाण्डौंको शंकर होटेलको वन आइड हल बुक गरेका थिए ।
भिडियो:
लाजिम्पाटस्थित सो होटलमा राजेश हमालले आफ्नी प्रेमिका मधु भट्टराईलाई सञ्चारकर्मीहरु माझ सार्वजनिक गरेका थिए र सोही अबसरमा उनले औपचारिक रुपमा प्रेमप्रस्ताव पनि राखेका थिए । बेलुका साढेसात बजे शुरु भएको सो कार्यक्रममा राजेश हमाल कालो सुटमा सजिएका थिए भने मधुले नीलो सारी र सुनौलो ब्लाउज लगाएकी थिइन । संचारकर्मीलाई भित्र बोलाइदा मधु र राजेश एक टेबलमा आमने सामने बसिरहेका थिए भने टेबलमा मैनबत्ती बलिरहेको थियो । टेबलमा रहेको वाइनको ग्लास रित्तिन लागेको थियो भने फूलदानीमा केही फूलहरू संगै राजेशका बाबुआमाको फोटो पनि टेबलमा राखिएको थियो।
राजेश हमालले सञ्चारकर्मीहरुको सामने आफ्नी आमाको नेकलेस मायाको चिनोको रूपमा आफ्नी प्रेमिकालाई पहिर्याइदिए। नेकलेस लगाएपछि उनले रातो गुलाफको फूलको गुच्छा दिएर प्रेमप्रस्ताव पनि राखे।