सोह्रश्राद्ध (पितृपक्ष )

जीवित हुँदा मातापिताप्रति सेवा गरे जसतै मृत्यु भएपछि पार्थिब शरीरलाई दाहसंस्कारको साथ साथै तत्पश्चात पितृहरूको सम्झनामा गरिने श्राद्ध जस्ता कार्य पनि मानवको कर्तव्य भएको कुरा शास्त्रमा उल्लेख छ ।

श्राद्ध के हो ?

पितृहरूलाई सम्झने र उनीहरूप्रति श्रद्धाभाव जनाउने परम्परा नै श्राद्ध भएकोले पितृहरू दिवंगत भएको तिथिमा श्रद्धाभावले सम्झना एबं आराधाना गर्ने हिन्दु संस्कृतिमा चलन छ। तेस्तै आश्विन कृष्ण पक्षअन्तर्गत पर्ने पितृपक्षमा पनि आफ्ना पितृहरू सम्झेर श्राद्ध गर्ने चलन छ । वेदादि शास्त्रहरूका अनुसार गरिने श्रद्धा बिधी बाहेक पितृहरूको स्मरण गर्दै ब्राह्मणहरूलाई दान गर्नु वा भोजन गराउनु पनि श्राद्ध नै मानिन्छ ।

एकोद्दिष्ट श्राद्ध सबैजना पितृहरुलाई नगरेर एक जनालाइ मात्र गरिने श्राद्ध हो ।  प्रत्येक बर्ष आफ्ना पितृको मृत्यु भएको तिथीमा यस श्राद्ध गर्ने गरिन्छ । धेरै पितृको सम्झनामा गरिनेलाई श्राद्ध पार्वण वा महालय श्राद्ध भनिन्छ । सोह्रश्राद्धमा गरिने श्राद्ध सबै पितृको सम्झनामा गरिने पार्वण श्राद्ध हो जसमा पितृकुल तीन पुस्ता मातृकुलका  तीन पुस्ता, सासू, ससुरा र गुरुलाइ एकै चोटी श्रद्धा पूर्बक सम्झना गरिन्छ ।

श्राद्धका प्रकार र सोह्रश्राद्ध

आफ्नो इच्छा पूरा गर्न काम्यश्राद्ध गरिन्छ भने विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य सम्पन्न गर्नु अघाडी गरिने श्राद्धलाई आभ्युदयिक श्राद्ध भनिन्छ । तेस्तै तीर्थस्थलमा गएर गरिने श्राद्ध लाइ तीर्थश्राद्ध भनिन्छ  भने शरीर स्वस्थ्य राख्न गरिने श्राद्धलाई पुष्टि श्राद्ध भनिन्छ, यात्रामा जाँदा सफल हुनको निम्ति घ्यूले गरिने बिशेष श्राद्धलाई यात्रा श्राद्ध पनि भनिन्छ । शास्त्रमा यस्तै प्रकारका धेरै श्राद्धको बर्णन भए पनि सामान्यत: व्यवहारमा भने यिनै पाँच/छ प्रकारका श्राद्ध नै प्रचलित छन्:

  • एकोद्दिष्ट (बार्षिकी श्राद्ध)
  • पार्वण (सोह्रश्राद्ध)
  • काम्यश्राद्ध (कामको सफलताको लागि गरिने श्राद्ध)
  • आभ्युदयिक (विवाह व्रतबन्ध अघाडी गरिने श्राद्ध)
  • तीर्थश्राद्ध (तीर्थस्थलमा गरिने श्राद्ध)
  • यात्रा श्राद्ध (यात्रामा सफलताको लागि गरिने श्राद्ध)

पितृहरूलाइ देवताका पनि देवता मान्ने हाम्रो संस्कृति छ । जसरी देवताहरुले आफ्ना भक्तहरुबाट पूजाको अपेक्षा गर्छन् तेस्तै पितृलोकमा रहने पितृहरूले पनि आफ्ना जीवित सन्ततिबाट श्राद्ध तर्पणको अपेक्षा गर्छन् ।

चान्द्रमानको पात्रोअनुसार एक वर्षमा २४ वटा पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष (सोह्रश्राद्ध) भनिन्छ । असोज कृष्णपक्षका प्रतिपदादेखि औंसीसम्मका पन्ध्र र पूर्णिमाको एकदिनलाई गरी सोह्रदिनको अबधीको यस समय भारी श्राद्ध गरिने हुनाले यो समयलाई सोह्रश्राद्ध भन्ने गरिएको हो ।

श्राद्ध बिधी

श्राद्ध गर्नु भन्दा अघिल्लो दिन श्राद्ध गर्ने व्यक्तिले आफ्नो केश मुण्डन गरेर एक छाक मात्र खाना खानु पर्दछ। यस कार्यलाई एकभक्त भनिन्छ भने यस दिनलाई एकछाकेको दिन भन्ने चलन छ। केशमुण्डन गर्न समय, फुर्सद, अवस्था नभएको अबस्थामा कुशपानीले टाउको नुहाई पवित्र हुने चलन पनि छ।

श्राद्धका प्रमुख अङ्ग निम्न छन:

  • तर्पण
  • सिधादान
  • पिण्डदान
  • ब्राहृमण भोजन

श्राद्धमा पितृको निमित्त तर्पण दिंदा आफन्त बन्धुबान्धव मात्र नभई ब्रहृमादेखि कीट पतङ्गसम्मको तृप्तिको कामना गरिएको हुन्छ । श्राद्धमा बनाइने ‘पिण्ड’ (डल्लो आकारको बस्तु) को विशेष महत्व हुन्छ। पिण्ड बनाउन गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको प्रयोग गरिन्छ जसमा तुलसीपत्र र कालो तिल मिसाई श्राद्धविधान अनुसार कर्ताले चोरी औंलामा कुशको पवित्र लगाई पितृको नाम, गोत्र, प्रवर स्वरूप उल्लेख गरी पिण्ड वेदीमा अर्पण गरिन्छ। श्राद्धको होमलाई "अग्नौकरण" भनिन्छ।

शास्त्रका अनुसार श्राद्ध गर्ने व्यक्ति र श्राद्ध गराउने ब्राहृमण सदाचारी हुनुपर्ने बताइएको छ। शास्त्रका अनुसार शुद्ध हुनै पर्ने सात कुरा यस प्रकार छन् :

  1. श्राद्ध गर्नेको शरीर,
  2. श्राद्ध गर्नेको धन,
  3. श्राद्ध गर्नेकी पत्नी,
  4. श्राद्धगर्ने भूमि,
  5. श्राद्ध गर्नेको मन,
  6. श्राद्धमा प्रयोग हुने मन्त्र,
  7. श्राद्धमा भोजन गर्ने वा पढ्ने ब्राहृमण

तेसैले श्राद्ध गर्दा पौराणिक मन्त्रलाई भन्दा पनि वैदिक मन्त्रको प्रयोगलाई बढी प्राथमिकता दिइन्छ। देवताहरूभन्दा पितृलाइ रिझाउन गाह्रो हुने हुनाले श्राद्ध गर्दा मन्त्रहरू शुद्ध रूपमा उच्चारण गर्न जरुररी छ। तेस्तै श्राद्धको निम्ति शुद्ध वस्त्र र शुद्धभोजन पनि उत्तिकै अनिवार्य मानिन्छ ।

श्राद्धका लागि गुठी

आफ्नो मृय्तु पस्चात आफ्नो निम्ति श्राद्ध भइ रहोस भनेर कतिपय मानिसहरुले गुठी राखिदिने पनि गरेका छन्। राजा रणबहादुर शाहको श्राद्ध गर्नको निम्ति गठित सप्तमी गुठीले अहिले सम्म पनि उनक श्राद्ध गरिरहेको छ । तेस्तै राणा प्रधानमन्त्री जङ्गबहादुरले पनि आफ़्नो श्राद्धको निमित्त भनेर गुठी बनाएका थिए जसले अहिले सम्म पनि उनको श्राद्ध गरिरहेको छ । मल्ल राजाहरूको पनि तेस्तै खालको गुठि रहेको बुझिन्छ । तेस्तै पशुपतिको मन्दिरमा चाँदीको ढोका स्थापना गर्ने ब्यापारी कुलानन्द झाको श्राद्ध अहिले सम्म हुदै आएको छ। सामान्य मानिसहरुको लागि पनि तीर्थहरूमा श्राद्ध गुठी राख्ने व्यवस्था हुन्छ तर त्यस गुठीको अनुगमन गर्ने व्यवस्था नहुने हुनाले तेस्तो श्राद्ध निरन्तरता हुने नहुने निर्क्योल हुन सक्दैन ।

आधुनिक युगमा श्राद्ध

नेपाली जनजिब्रोमा प्रचलित एउटा भनाइ छ – "श्राद्धमा बिरालो बाध्ने" । भएको के रहेछ भने, एक पटक एक जना मानिसले श्राद्ध गर्न लाग्दा उनले पालेको बिरालोले शुद्ध सामाग्रीलाइ छोइ दिई बिटुलो बनाइ दिएको हुनाले सो बिरालोलाई नजिकै बाँधेर श्राद्ध गर्न लागेछन । त्यो श्राद्ध देख्ने छिमेकीले आफ्नो श्राद्धमा तेही बिरालोलाइ मागेर नजिकै बाँधेर श्राद्ध गर्न थालेछ । बिस्तारै सबै जनाले श्राद्ध गर्दा श्राद्ध सामाग्रीको साथ साथै बिरालोको पनि व्यवस्था गर्न थालेछन । यसरी आफ्नो गाउँमा बिरालो नभए अरु गाउँ बाट समेत बिरालो ल्याएर बाध्ने चलन चलेको कुरा कतिसम्म सत्य हो थाहा भएन तर, प्रतीकात्मक रुपमा तेस्तै अनाबस्यक चलनहरु थपिदै गएको भने पक्कै हो।

तेसैले पितृहरूलाई वर्षमा एक दिन भए पनि सम्झना गर्ने यो चलनलाइ अलिक बैज्ञानिक र नयाँ पुस्ताले अनुसरण गर्न नहिच्किचाउने खालको बनाउन आबश्यक देखिन्छ । अहिलेको बदलिदो परिस्थिति र भूमण्डलीयकरणको यो युगमा पनि सन्ततीबाट पिण्डको आशा गर्ने हो भने श्राद्धको अनुष्ठानलाइ छोटो र मिठो बनाउनु अतिनै आबश्यक देखिन्छ ।

मातृदेवो भव!

पितृदेवो भव!!

अचार्यदेवो भव!!!

अतिथिदेवो भव !!!!

(यस लेखका लेखक आचार्य आनन्द हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published.