एफेयर शुरु भएको नौ वर्षपछि नेपाली सुपरस्टार राजेश हमालले आफ्नी प्रेमिकालाई सार्बजनिक गरेका छन् । यही बुधबार उनले सो प्रयोजनको लागि काठमाण्डौंको शंकर होटेलको वन आइड हल बुक गरेका थिए ।
भिडियो:
लाजिम्पाटस्थित सो होटलमा राजेश हमालले आफ्नी प्रेमिका मधु भट्टराईलाई सञ्चारकर्मीहरु माझ सार्वजनिक गरेका थिए र सोही अबसरमा उनले औपचारिक रुपमा प्रेमप्रस्ताव पनि राखेका थिए । बेलुका साढेसात बजे शुरु भएको सो कार्यक्रममा राजेश हमाल कालो सुटमा सजिएका थिए भने मधुले नीलो सारी र सुनौलो ब्लाउज लगाएकी थिइन । संचारकर्मीलाई भित्र बोलाइदा मधु र राजेश एक टेबलमा आमने सामने बसिरहेका थिए भने टेबलमा मैनबत्ती बलिरहेको थियो । टेबलमा रहेको वाइनको ग्लास रित्तिन लागेको थियो भने फूलदानीमा केही फूलहरू संगै राजेशका बाबुआमाको फोटो पनि टेबलमा राखिएको थियो।
राजेश हमालले सञ्चारकर्मीहरुको सामने आफ्नी आमाको नेकलेस मायाको चिनोको रूपमा आफ्नी प्रेमिकालाई पहिर्याइदिए। नेकलेस लगाएपछि उनले रातो गुलाफको फूलको गुच्छा दिएर प्रेमप्रस्ताव पनि राखे।
राजेशले मधुलाई गहना लगाईदिंदा भ्वाइलिनको धुनमा गायक राजेशपायल राईले गीत पनि गाए :
न कुनै बन्धन
न कुनै परिधि
माया गर्छु तिमीलाई जुनी जुनी
सो गीतमा राजेश र मधु लजाई लजाई नाचे पनि।
पत्रकारहरुको प्रश्नको उत्तर दिंदै राजेश हमालले प्रेम शुरु भएको ९ बर्ष भएको बताए । अहिलेको ९ बर्ष अघि मे २८ तारिखमा हायात होटेलमा भएको एक औपचारिक कार्यक्रममा मधुसँग पहिलो भेट भएको भन्दै राजेश ले भने, ‘हाम्रो लामो सम्बन्ध छ, हामी बिस्तारै नजिकिएका हौं । एकआपसमा चिन्दै जाँदा अहिलेको अवस्थासम्म आइपुगियो।’
‘पहिला मैले उहाँलाई कार्ड दिएको थिएँ, फोन चाहिँ पहिलो पटक उहाँले नै गर्नुभयो’, प्रेमको शुरुवातको बारेमा उनले बताए ।
जीवनसाथी सार्वजनिक गरेर जेठ १४ गते रिसेप्सनको मिती बताए पनि विवाहको दिन भने राजेशले बताएनन । रिसेप्सनको दुई दिनपछि नै कार्यक्रमको सिलसिलामा अन्य कलाकारको साथमा अस्ट्रेलिया जाने बताउँदै राजेशले हनिमुन भने केही समयको लागि पछि सरेको बताए । मधुले भने सो कार्यक्रममा केही पनि बोलिनन।