मनु मञ्जिलको कविता – दुश्मन

आजको भिडियो कविता बाचन, कवि मनु मन्जिलको आवाजमा । नेपालि साहित्यिक क्षेत्रका सेलिब्रेटि मध्येका एक मनु मन्जिलको लेख “कवितामा लाटा शब्दहरुको पिरामिड” यस अघि मैले शेयर गरेको थिएं ।

आजको कविता मनु मन्जिलले हालै पोखरामा सम्पन्न भएको साहित्यिक भेलामा वाचन गरेको कविता । सो वाचनको  रेकर्ड गर्ने मित्र रविन मानन्धरले भिडियो भिडियो प्रस्तुत गर्न लायक नभएको भन्दै मंजिलाको एक फोटोलाइ नै बोल्न लगाइ दिएछन – एनिमेसनको प्रयोग गरेर । कविता त बेजोड छँदै छ, एनिमेसन पनि रमाइलो लागेको हुनाले यहाँ शेयर गर्दै छु । कविताको बोल, भिडियो सुन्दै ट्रान्सक्राइब गरेको हुनाले प्रकाशित रुप भन्दा फरक होला ।

https://www.youtube.com/watch?v=JuXOdXXCd7I

दुश्मन

मेरो एउटा दुश्मन छ
जो मलाइ फोहर जत्तिकै घृणा गर्छ
तर म उसलाई फुल जत्तिकै मन पराउँछु

मेरो एउटा दुश्मन छ
जो मलाइ फोहर जत्तिकै घृणा गर्छ
तर म उसलाई फुल जत्तिकै मन पराउँछु
उ मेरो अनुहारमा घाम नउदाउनु भन्छ
मेरो बगैंचामा बसन्त नआउनु भन्छ
मेरो घरका झ्याल ढोकाबाट हावा नपस्नु भन्छ
मेरो आँगनका फुलले नमगमगाउनु भन्छ
मेरा बालबचेराले उसले सुन्ने गरि नकराउनु भन्छ
उसलाइ दुख्ने गरि नरमाउनु भन्छ

उ आफ्नो घरको बार्दलिमा बस्छ
र, पर बाट बाटो हिंड्ने जो कोहिलाइ
मनमनै मेरो घर नपस्नु भन्छ
कोसेलि वा उपहार बोकेका कोहि नपसुन भन्छ
मन्दिरबाट आशिर्बाद लिएर फर्केका बुढा बुढिलाइ
मेरो घर अघाडिको चौतारामा नबसुन भन्छ

उसलाइ मेरो घरमाथि चरा बसेको मन पर्दैन
जुन मेरो छानामाथि बसेको
मेरा खेतबारिमा भाग्य लहलह झुलेको
आँपका रुखमा आशाका फुलहरु फुलेको
कुलाका पानि मेरो गैर्हि खेतमा डुलेको
उसलाइ केहि मन पर्दैन

यो बर्षात किन मेरो घरको छानो भत्काउँदैन
पल्लो गाँउको खोलो किन मेरो घरको बाटो आँउदैन
आगो किन यसरि अँगेनामा चुपचाप छ
किन झिल्को जुनकिरि जस्तो माथि माथि उड्दैन
किन केहि जलाँउदैन ?

उ मेरो सपनामा मरुभुमि पसोस् भन्छ
मेरो घरमा आँधि आएर बसोस् भन्छ
राति चोर आएर भकारिमा घुसोस्
मेरा ओठबाट मुस्कान उडेर बालुवामा गइ खसोस् भन्छ
तर म उसलाई फुल जत्तिकै मन पराउँछु
यत्रो दुनियामा उ बाहेकको अरु
मेरो साथि, सगोत्रि
आफ्नो, अर्को
ठुलो, सानो
परिचित, अपरिचित
एउटै कतै कोहि छैन
जसले आफ्नै रहर र सपना भुलेर
घाम, पानि, फुल, जुन र चराहरु भुलेर
घर, धर्ति र आकास भुलेर
म बारे यति बिघ्न सोचोस्
मलाइ यति बिघ्न सम्झोस्
दुश्मन नहुनु भनेको त
आफु तिर हरदम फर्कि रह्ने
जिवनको एउटा पाटै नहुनु रहेछ

म उसलाई फुल जत्तिकै मन पराउँछु !

manu manjil

Leave a Reply

Your email address will not be published.