म्यारिज नियमावलि, २०७० (२०७३ संसोधन)

केही वर्ष अगाडि सम्मानित पुनरावेदन अदालत बिराटनगरले म्यारिज खेललाइ जुवा भन्न नपाइने भनि दिएको आदेशको सम्मान गर्दै, म्यारीज खेललाइ ब्यबस्थित बनाउन “म्यारिज नियमावलि, २०६५” लागु गरिएको थियो । सोहि नियमावलिलाइ ब्यबस्थित गर्न र समयानुकुल परिवर्तन गर्न बि.सं. २०७३ सालमा यसलाइ थोरै परिवर्तन गरेर यो संसोधित नियमावलि जारि गरिएको छ । तिन बर्ष अघि पोष्ट गरिएको यस नियमावलिलाइ मुख्यत: दिर्घ हटाएर संसोधन गरिनुका साथै केहि नियम परिमार्जन गरिएका छ:

म्यारिज नियमावलि, २०७० (२०७३ संसोधन)
प्रस्तावना

म्यारिज खेलको खेल प्रकृयाबारे थोरैलाइ थाहा भएर समय समयमा विवाद आइराख्ने भएको कारण म्यारिज खेललाइ व्यवस्थित र मर्यादित पार्नु वाञ्छनिय भएकोले पप्लुको विकसित रुपमा म्यारिजलाइ स्थान दिइ सबैको घर दैलोमा चाडवाडदेखि काजक्रियासम्म, मेलापात वा पढाइबाट निकालिएको फुर्सदको समयमा, रुद्रि वा पुराण लगाएको घरमा वा जागिरे वा बेरोजगार, मन्त्रि वा सचिव सबैले रुचि राखेको कारण नियमको अभावमा सधैं किचलो उत्पन्न हुने तथा झैझगडाको अवस्था समेत सृजना हुने भएकोले तत्काल दलहरुबिचको राजनितिक सहमति कायम हुन नसकि संविधान सभाको बैठक अवरुद्ध भएको अवस्थामा र मुल कानुन निर्माण नसकेको हुँदा तत्काल केहि न केहि गर्नै पर्ने भएकोले यो नियमको तर्जुमा गरिएको छ ।

marriage game

परिच्छेद–१

१. संक्षिप्त नाम र प्रारम्भ :
(क) यो नियमावलिको नाम “म्यारिज नियमावलि, २०७०” रहेको छ । यस नियमावलिले “म्यारिज नियमावलि, २०६५” लाइ प्रतिस्थापन गर्नेछ ।
(ख) यो नियमावलि म्यारिज खेलाडिहरु र यस खेल प्रति रुचि राख्ने दर्शक तथा अन्य खेलाडिहरुको हकमा मात्र लागु हुनेछ ।
(ग) यो नियमावलि तुरुन्त लागु हुनेछ ।

२. परिभाषा :

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलिमा :
(क) “तास” भन्नाले एक्का देखि वादशाह सम्मका चिडि, सुरत, इट र पानका चार प्रकारका तास (चक्कि) सम्झनु पर्दछ ।
(ख) “बुक” भन्नाले खण्ड (क) मा उल्लेखित थान ५२ को संख्या वा मिश्रित समुहलाइ सम्झिनु पर्दछ ।
(ग) “म्यारिज बुक” भन्नाले खण्ड (क) अनुसारको ४ बुक तास सम्झिनु पर्दछ ।
(घ) “दाना तथा गेडा” भन्नाले तास खेल्दा पैसाको आदान प्रदान गर्न तथा विनिमय गर्न सहज होस् भनि पैसाको मुल्यमा सटहि गरि राखिएको मकै, भटमास, सिमि, मटर, केराउ तथा अन्य सजिलो किसिमले गन्न सकिने गेडागुडि वा चिज वस्तुलाइ सम्झिनु पर्दछ ।
(ङ) “खेलाडि” भन्नाले जित्ने नै मनसाय राखि दुइ वा दुइ भन्दा बढि तर ८ जनामा नबढ्ने गरि स्वास्नि, छोरा–छोरिको आँखा छलि तथा घरको वा कार्यालयको कामकाज माया मारि म्यारिजको खालमा घुँडा टेकेर चौबिसै घण्टा बिताउने व्यक्तिहरुलाइ सम्झनु पर्दछ ।
(च) “टट्टु तथा धुपौरे” भन्नाले घरको वा कार्यालयको कामकाज गर्नका दु:खले म्यारिजको खालमा गएर उँघ्ने वा लम्पसार परेर सुत्ने, हात टेकेर अर्काका तास हेरि यो फाल, त्यो फाल भन्ने, हात नटेक लोदर लाग्यो भन्दा हतपत पलेटि कस्ने, अरु खेलाडिले नबोल भन्दा ङिच्च दाँत देखाउँदै हाँस्ने वा निन्याउरो मुख लगाउने व्यक्तिलाइ समेत सम्झनु पर्दछ ।
(छ) “म्यारिजको खाल” भन्नाले सम्भव भएसम्म सुकुल माथि शतरन्जा ओछ्याइएको अम्मलिहरुको अम्मल अनुसारको पानि, रक्सि, चुरोट, पान–पराग, खैनि, सुर्ति वा अन्य पान मसला वा यस्तै किसिमका अम्मल समेत जुटाइएको निर्धारित स्थानलाइ सम्झनु पर्दछ ।
(ज) “मुर्गा” भन्नाले खेलको अवधिमा अधिक मात्रामा रुपैयाँ हार्ने हरुवा व्यक्तिलाइ सम्झनु पर्दछ ।
(झ) “लाग्यो” भन्नाले साथमा भएको नगदि वा जिन्सि सम्पुर्ण सरसामानहरु हारि टाट पल्टि मुर्गा हुने व्यक्तिले तिर्न नसकि ङिच्च दाँत देखाउँदै दिएको जवाफ सम्झनु पर्दछ । सो शब्दले खल्तिमा (भित्रि पकेटमा) पैसा भइ भइ बद्नियत– पुर्वक हारेको पैसा नतिर्ने नियतले कुनै पनि ढंगबाट दिएको जवाफ समेत सम्झनु पर्दछ ।
(ञ) “डबल म्यारिज” भन्नाले खण्ड (ञ) अनुसारका २ जोडा सम्झनु पर्दछ ।
(ट) “चौरेला” भन्नाले कुनै पनि रङ्गका एक अंकका ४ कार्डलाइ सम्झनु पर्दछ ।
(ठ) “डब्बल चौरेला” भन्नाले नियम २ को खण्ड (ट) बमोजिमका जोडि सम्झनु पर्दछ ।
(ड) “सिक्वेन्स” भन्नाले एकै रङ्गका क्रमिक ३ देखि ५ कार्ड सम्मको तासलाइ सम्झनु पर्दछ ।
(ढ) “जोक्कर” भन्नाले कटुवाले माल काटेपछि पल्टेको मालको विभिन्न रङ्गको तासलाइ सम्झनु पर्दछ ।
(ण) “माल” भन्नाले कटुवाले तास काटेपछि घोप्ट्याइ वा उत्तानो पारि खेलाडिको बिचमा बुकले थिचेर राख्ने तास वा चक्किलाइ सम्झनु पर्दछ ।
(त) “ वाइ सि एल” भन्नाले मुल जोक्करलाइ सम्झनु पर्दछ ।
(थ) “कटुवा” भन्नाले ३ सिक्वेन्स पुगेपछि भुँइमा सबै खेलाडिहरुले देख्ने गरि भुँइमा पछाडि जोक्कर वा माल काट्ने व्यक्तिलाइ सम्झनु पर्दछ । तर पहिलै जोक्कर पल्टाउने खेलमा तास बडुँवाले भन्दा देब्रेपट्टि बसि माल काट्ने व्यक्तिलाइ समेत जनाउँदछ ।
(द) “सुको मरु झा” भन्नाले कटुवाले माल काटेपछि जोकर समेत नपरेको अवस्थालाइ सम्झनु पर्दछ ।
(ध) “अल्टर” भन्नाले कटुवाले काटेको मालको अल्टर (ठिक विपरित) रङ्ग र अंकको तासलाइ सम्झनु पर्दछ ।
(न) “बाटो खर्च” भन्नाले खेलको पिरियडमा अधिक मात्रामा हारि टाट पल्टि १ कि.मि. भन्दा टाढाको गन्तव्यमा पुग्ने पर्ने मुर्गा भएमा उक्त मुर्गालाइ जितुवा मध्ये जेष्ठ जितुवाले भाडा बापत अप्ठ्यारो नमानि दिने खर्चलाइ सम्झनु पर्दछ ।
(प) “बडुवाल” भन्नाले शर्त बमोजिम सर्वप्रथम वा सो पश्चात् एक अर्कालाइ तास बाँड्ने भान्सेलाइ सम्झनु पर्दछ ।
(फ) “कटफर” भन्नाले ४ जना सम्म खेलाडि भए प्रत्येक २ राउण्डमा र सो भन्दा माथि खेलाडिहरु भए प्रत्येक राउण्डमा बुकबाट ठुलो तास पल्टाउने खेलाडिले रोजेको स्थानमा बस्न पाउने गरि स्थान सट्टापट्टा गर्ने कार्यलाइ सम्झनु पर्दछ
(ब) “१३ प्वाइन्ट” भन्नाले अघिल्लो दिनको ह्याङ्ग वा धङ्गधङ्गिले हो वा अन्य कुनैपनि भुलवश खेलाडिले नियम बमोजिम सो नगरि अन्यथा सो गरे बापत तिराइने जरिवानालाइ सम्झनु पर्दछ ।
(भ) “डुप्लि” भन्नाले एकै रङ्गका एकै अंक भएका जोडि तासलाइ सम्झनु पर्दछ ।
(म) “डुप्लि शो” भन्नाले ७ डुप्लि बनाएर लेस भएपछि ८ डुप्लि बनाइ गरिने शो लाइ सम्झनु पर्दछ ।
(य) “बेटर” भन्नाले शुरु तास बाँडेपछि १० वा सो भन्दा माथिको माल परेपछि वा मालै नपरेपछि खेलिने दोब्बरको खेललाइ सम्झनु पर्दछ ।
(र) “खाल” भन्नाले संसारैमा कुनै केहि पेशा, नोकरि गर्न नसकेपछि वा नपाएपछि स्वास्नि, छोराछोरि पाल्नै पर्ने बाध्यताले वा सानोतिनो केहि पेशा वा रोजगारि भएतापनि बढि सम्पत्ति आर्ज गर्ने मनसायले आफ्नै घरमा खाल स्थापना गरि बसेको हुतिहारा वा नामर्द व्यक्तिलाइ सम्झनु पर्दछ ।
(ल) “पुरानो कोदो” भन्नाले खेलाडिले पहिल्यै खेलेको म्यारिजको उठ्न बाँकि रकमलाइ सम्झनु पर्दछ ।
(व) “डिपोजिट” भन्नाले खेलाडिहरुको आपसि विश्वासमा रकम तिर्ने विषयमा संकट भएको अवस्थामा खेलाडिहरुको सहमतिमा राखेको डिपोजिट रकमलाइ सम्झनु पर्दछ ।

परिच्छेद–२

३. यस निमायवलिमा निम्न बमोजिम नियमको व्यवस्था गरिएको छ :–

(३.१) खेलाडिको संख्या :– यो खेल २ जना देखि ८ जना सम्ममा नबढ्ने गरि खेल्न सकिनेछ । यसरि २ देखि ८ जना सम्मले खेल्ने हुँदा शर्त बमोजिम घोप्टो वा उत्तानो पारि खेल्न सक्नेछन् ।

(३.२) माल गणना विधि :– यस खेलमा निम्न बमोजिम माल गणना हुनेछ ।
(क) कटुवाले काटेको रङ र अंकको मुनिको टिप्लु र पप्लु २/२ को माल हुनेछ ।
(ख) खण्ड (क) मा उल्लेखित दुवै तास भने ३ को माल हुनेछ ।
(ग) १ टनेला ५ को, २ टनेला १५ को र ३ टनेला परेमा स्वत: ४० को माल हुने छ।
(घ) १ अल्टर ५ को, २ अल्टर १५ को र ३ अल्टर २५ को र ४ अल्टरको ३०
(घ – १) जोक्करको ५ को २ जोक्करको १५, ३ जोक्करको २५, ४ जोक्करको ३० को माल हुनेछ ।
(ङ) पल्टेको तासको पप्लु वा टिप्लु तथा पप्लु दुवै भएमा ९ को माल र म्यारिज १० को माल हुनेछ ।
(च) उल्लेखित माल बाहेक खेलाडिहरुले शर्त बमोजिम अन्य जोक्करलाइ माल थप गरि खेल खेल्न सक्नेछन् ।

(३.३) डुप्लि खेल सम्बन्धि व्यवस्था :– यस खेलमा डुप्लि खेल्दा हातमा ७ डुप्लि भएपछि भुँइमा देखाइ लेसमा बस्न सकिनेछ र ८ डुप्लि भएमा सो गर्न सकिनेछ । तर उत्तानो पारि खेलिएको खेलमा डुप्लि भुँइमा पछार्नु पर्ने छैन । यस बापत ५ प्वाइन्ट सलामि खान पाइने छ तर ७ डुप्लि हुँदा सम्म हातैमा राखेमा गणना हुँदा कायम भएको प्वाइन्ट तिर्नु पर्ने छैन ।

(३.४) टनेला तथा डुप्लिमा हुने शो सम्बन्धि विशेष व्यवस्था :– यस खेलमा ३ टनेला शुरुमा परेमा वा ८ डुप्लि हातमा परेमा स्वत: शो हुनेछ ।

(३.५) बेटर खेल खेलिने व्यवस्था :– यस खेलमा १० को माल भन्दा माथि परे पछि वा माल पर्दै नपरेको अवस्थामा खेलाडिहरुको आपसि सहमतिमा बेटर गेम खेल्न सकिनेछ ।

(३.६) जोक्करलाइ माल मानि खेल्न सकिने :– यस खेलमा माल बाहेक खेलाडिहरुको सहमति अनुसार बाहिरको जोक्कर १ वा २ वा ३ वा ४ राखेर अल्टरको गणनामा पनि खेल्न सक्नेछन् ।

(३.७) लागो भन्न नपाइने :– खेल खेल्दै जाँदा खेलाडिले हारि टाट पल्टि मुर्गा भएपछि लागो भन्न पाइने छैन । यस्तो खेलाडिले डिपोजिटमा धक्का लाग्ने बित्तिकै जुरुक्क उठ्नु पर्नेछ ।

(३.८) खालमा हराएको वस्तुको जवाफदेहि स्वयं खेलाडि नै हुनु पर्ने :– यस खेलमा खेलाडिहरु हारि टाट पल्टि जो सुकैको पनि जुत्ता, रिङ्ग, चेन, घडि, ज्याकेट तथा अन्य नगि तथा जिन्सि सरसामानहरु जमानतमा राखेको वा हराएकोमा सो को जावफदेहि खाले नभै स्वयं खेलाडिहरु नै हुनु पर्नेछ ।

(३.९) पुरानो कोदो नयाँ खेलमा हिसाब गर्न नहुने :– यदि कुनै खेलाडि मुर्गा हुन लागे पछि अस्ति खेल्दाको भनि पुरानो कोदाको कुरा निकालि नयाँ खेलमा हिसाब गर्न पाइने छैन । यस्तो उठति रकम उत्तिनै खेरि खालमै उठाउनु पर्नेछ वा माफ मिनाहा गरि अन्यत्रको खेलमा हिसाब नगर्ने घोषणा गरि उठ्नु पर्नेछ ।

(३.१०) खेल खेलिरहेको समयमा कोहि लिन आएमा तुरुन्त उठ्नु पर्ने :– खेल भइरहेको समयमा कुनै पनि खेलाडिको स्वास्नि वा छोरा छोरि वा अन्य नातेदार आइ उठ्नोस भनेमा खेलाडिले तुरुन्त आफ्नो हरहिसाब किताब फर्छयौट् नगरि उठ्नु पर्नेछ ।

(३.११) जितुवालाइ जितौरि बाँड्न बाध्य नपारिने :– खेलको अन्त्य भएपछि जित्ने खेलाडिलाइ जितौरि बाँड्न बाध्य पारिने छैन, जितुवाले आफ्नो स्वेच्छाले दिएको जितौरिलाइ दर्शक दिर्घाले आफ्नो खुद आम्दानि सम्झि ग्रहण गर्नु पर्नेछ । तर तैंले यति उति कत्ति दिनु पर्नेछ भनि दबाब दिन पाइने छैन ।

(३.१२) बाटो खर्च दिइने :– खेलको समयमा अधिक मात्रामा हारि टाट पल्टि हार्ने मुर्गालाइ जित्ने खेलाडिहरु मध्येबाट १ कि.मि.भन्दा पर सम्मको गन्तव्यमा जानु पर्ने भएमा बाटो खर्च दिन सकिनेछ । तर जितुवाले आनेकाने गरि जुत्ता टिपि भाग्न खोजेमा यसै महलको दण्ड सजायको महलमा व्यवस्था भए बमोजिम कारवाहि गरिनेछ ।

(३.१३) म्यारिज खेल तथा खालमा निषिद्ध कार्यहरु :–
(क) गलत शो गर्न नहुने ।
(ख) खेलाडि तथा दर्शक दिर्घाहरु बिच मुख छाड्न तथा हात हाल्न नहुने ।
(ग) खालेको स्वास्नि, छोरि, चेलिहरु माथि गिद्धे दृष्टि लगाउन नहुने ।
(घ) धारिलो हतियार लिएर आउन निषेध ।
(ङ) इशारा वा कुनै माध्यमबाट अन्य खेलाडिलाइ मालको बारेमा जानकारि दिन नहुने ।
(च) वाइ.सि.एल.काटेमा काट्ने व्यक्तिले ५ प्वाइन्ट स्वत: पाउने छ । पुन: काट्दा पुन: परेमा १० प्वाइन्ट स्वत: पाउने छ ।

परिच्छेद–३

४. यस खेलमा निम्न बमोजिमको दण्ड सजायको व्यवस्था गरिएको छ :–

(४.१) (क) १३ प्वाइन्ट पर्ने :–
यस खेलमा कुनैपनि खेलाडिले आफ्नो व्यक्तिगत लाभ लिने उद्देश्यले वा अन्य कुनै दुषित मनसायले वा भुलवस खेलाडिहरुको आँखा छलि माल थप्ने, फेरबदल गर्ने, ७ देखि माथि वा मुनिको तास-चक्कि राखि सो गर्ने आदि गलत तथा निषिद्ध कार्य गरेको ठहरेमा, फेला परेमा त्यस्तो खेलाडिलाइ १ पल्टको लागि १३ प्वाइन्ट जरिवाना तिराइ तास हाप्न लगाइनेछ । अन्यथा नियम ४ (ग) बमोजिम कारवाहि गरिनेछ ।

(ख) खेल भइरहेको अवस्थामा कटुवाले माल काटे पश्चात् माल वा जोक्कर परेन भनि कुइकुइ गरि म्यारिजको बुक चलाउने, था…..था……..थु…….थु…….गर्ने तथा तासै सम्म हुत्याउने जस्तो अपराध गरेमा त्यस्तो खेलाडिलाइ १३ प्वाइन्ट तिराइ तुरुन्त खालेले खेलबाट बर्खास्त गरि अर्को खेलाडि नियुक्त गर्न सक्नेछ ।

(४.२) खालमा मुख छाड्ने तथा गालि गलौज, बेइज्जति गर्न नहुने :– यस नियमावलिमा कुनैपनि खेलाडिले एक अर्का बिचमा व्यक्तिगत मनमुटाव गर्ने तथा खेलको प्रसङ्गमा अनावश्यक वाद विवाद, किचलो सृजना गरि खेलेमा अवरोध ल्याउने/गराउने तथा नाकमा मुखमा मुक्का बजाउने सम्मको जघन्य अपराध गरेमा त्यस्तो खेलाडिलाइ तुरुन्तै भविष्यमा अयोग्य नठहरिने गरि निष्काशन गरिनेछ र सो खालको लागि स्वत: अयोग्य हुनेछ । निजको पुनरावेदन कहीं लाग्ने छैन ।

(४.३) धारिलो/पड्किने हतियार लिएर आउन निषेध :– कुनैपनि खेलाडि तथा टट्टु वा धुपौरेले खेल भएको समयमा धारिलो/पड्किने हातहतियार लिएर आइ, देखाइ वा आतङ्कित पारि लिइ आएको धारिलो हतियार प्रहार गरि खालमा रहेका कुनै पनि व्यक्तिलाइ घाइते बनाएमा ३५ दिन भित्र निको नहुने चोट लागेको अवस्थामा कानुन बमोजिम कारवाहिको लागि नजिकको प्रहरि कार्यालयमा बुझाइदिनु पर्नेछ तर ३५ दिन भित्र निको हुने प्रकृतिको चोट भएमा प्रहारकर्ताले घाइतेको सम्पुर्ण उपचार खर्च व्यहोर्नु पर्नेछ ।

(४.४) आफन्त लिन आएमा जुरुक्क उठ्नु पर्ने :– खेल भइरहेको समयमा कुनैपनि खेलाडिको स्वास्नि वा छोराछोरि वा अन्य नातेदार आइ “उठ्नोस्” भनेमा खेलाडिले तुरुन्त आफ्नो हर हिसाब किताब मिलान गरि खालबाट जुरुक्क उठ्नु पर्नेछ । तर “एकै हात, एकै हात” भनि खेललाइ लम्ब्याइ लिन आएको व्यक्ति आवेशमा आइ तास च्यात्ने वा हुर्याइ दिइ म्यारिज खेलको गरिमामै आँच पु-याउने जस्तो जघन्य अपराध गरेमा त्यस्तो खेलाडिलाइ तासको मुल्य सहित १० प्रतिशत रकम जरिवाना स्वरुप असुल उपर गराइनेछ । यस्तो सजायबाट असुल उपर हुन आएको रकम मध्ये ५ प्रतिशत रकम म्यारिज खेल वरिपरि झुम्मिएर होस् वा उंघि उंघि भए पनि खेल सफल बनाउन लागि परेका टट्टु वा धुपौरेहरुलाइ चिया नास्ता शिर्षकमा तुरुन्त खर्च गर्नु पर्नेछ ।

(४.५) जिस्क्याउन वा गिज्याउन नहुने :– यदि कुनै खेलाडिले वा हेर्न, उंघ्न, लम्पसार परेर सुत्न वा सिक्न अथवा मान्छे बोलाउन आउने व्यक्तिले खालेको स्वास्नि वा छोरि, चेलि माथि कुदृष्टि राखि जिस्क्याउन वा गिज्याउने, आँखा झिम्क्याउने, हात समाउने, गालामा म्वाइ खाइदिने वा अन्य यहाँ लेख्न नमिल्ने जस्तो जघन्य अपराध गरेमा त्यस्ता बिल्टुवालाइ खालेले उत्निखेरै खालबाट बाहिर निकालि नाङ्गेझार पारि सिस्नु पानि लगाउन सक्नेछ । सो कार्य गर्ने बिल्टुवा अन्य कानुनि कार्वाहिबाट समेत मुक्त हुने छैन ।

(४.६)जितुवा खेलाडि भाग्न नहुने :– जितुवा खेलाडि आफन्तहरु लिन आएको अवस्थामा बाहेक घटिमा १० राउण्ड खेल नखेलि भाग्न पाउने छैन । त्यस्ता जितुवा खेलाडि खेल छाडि नगएको अवस्थामा खेलको अन्तमा जितौरि नबाँडि दुषित मनसायले खालबाट भाग्न वा बाहिरिन खोजेमा त्यस्तो खेलाडिलाइ खेलमा खालेले कठालो समाइ जितेको सबै पैसा थुति बाहिर पठाउँन समेत सक्नेछ । यस्तो कार्यमा उपस्थित अन्य खेलाडि तथा टट्टु वा धुपौरेले समेत मद्दत गर्नुपर्नेछ ।

(४.७) मादक पदार्थ सेवन गरेका खेलाडिलाइ मुर्गा बनाउन नपाइने :– कुनैपनि खाले वा खेलाडिहरुले कुनै पनि नशामा भएको खेलाडिलाइ विभिन्न प्रलोभन देखाइ वा ललाइ फकाइ खेलमा बसाइ साथमा रहेको नगद वा जिन्सि सम्पुर्ण सर–सामानहरु जितेर लिने खेलाडि वा खालेलाइ बढिमा ३ वर्षको लागि निलम्वनमा राखि खालस्थापना गर्न नदिने वा खेलाडिहरुको हकमा उल्लेखित अवधि सम्मको लागि खेलमा सहभागि हुन वञ्चित गरिनेछ ।

परिच्छेद–४

क. अन्य नियम, विनियममा असर नपर्ने :–

यस नियमावलिमा उल्लेख भएको नियमहरुले क्षेत्रगत रुपमा बनेका, चलनचल्तिमा रहेका नियम, विनियमलाइ कुनैपनि प्रकारले असर गर्ने छैन ।

ख. लागु हुने :–

यो नियमावलि केवल म्यारिज प्रेमि खेलाडिहरु वा यो संग सम्बन्ध राख्ने जो कोहि व्यक्तिलाइ मात्र लागु हुनेछ ।

ग. संयोग हुने :–

यो नियमावलिमा व्यवस्था भएका कुराहरु अन्यनियम, विनियमसंग मेल खान आएमा केवल संयोग मात्र हुने छ ।

घ. अमान्य हुने :–

यस नियमावलिमा बाझिएका कुनैपनि कुराहरु बाझिएको हदसम्म अमान्य हुने छन् ।

ङ. बाधा अड्काउ फुकाउने :–

यस नियमावलिमा व्यवस्था भएका कुराहरु बाहेक अन्य परिस्थिति सृजना भइ खेलमा अवरोध आएमा खेलाडिहरुको आपसि समझदारिबाट बाधा अड्काउ फुकाउन कुनै बाधा पर्ने छैन ।

च. संशोधन :–

यस नियमावलिमा संशोधन एवं सुझाव दिन चाहनेले नेपाल म्यारिज संघ, केन्द्रिय कार्यालयमा (वा कमेन्ट मा)लिखित राय सुझाव दिन सक्ने छन् ।

इतिश्रि

***

संसोधित अंश –

– ३-२ (ख) मा काटिएको माल ३ प्वाइन्टको हुने।
– जोक्कर राखेर खेल्नेको लागि जोक्करको बारेमा परिच्छेद २-३ (घ) लाइ परिमार्जन गरेर (घ-१) थप गरिएको ।

Leave a Reply

Your email address will not be published.