परिवर्तित तिज र पुरुष सहभागिता

तीज नजिकिदै गर्दा मलाई  करिब एक दशक अघि घरनजिकै आमा, दिदिबैनीहरु आफ्नो घरायशी धन्दा भ्याएर रातको समय टुकीको उज्यालोमा नाच्ने , गाउने गरेको कुरा सम्झिदैछु | २/३ दिन अघिदेखि चेलीहरु माइती जाने,ल्याउने गरिन्थ्यो र तीज कै दिनमा भने आफ्नो गच्छे अनुसार शृंगार गरी बजार वा कुनै चौतारीमा भेला भै नाच गान गर्ने चलन थियो | शिव र पार्वतीको धार्मिक कथा जोडिएको तीजमा बिशेषत महिलाहरु आफ्नो श्रीमान र परिवारको लामो आयू र सुस्वास्थको कामना गर्दै ब्रत बस्ने परम्परा रहदै आएको छ | त्यतिबेलाको गीतहरु  पनि महिलाको बेदना , घर र माइतिबिचको अन्तरद्वन्द, गाउँमा घटेका घटना आदिको वास्तविकता बुनेर गाउने गरिन्थ्यो | समयको गतिशिलतासंगै  त्यतिबेला र अहिलेको तीजमा धेरै भिन्नता आइसकेको हामी देख्न सक्छौ |

teej_singers_sunita_dulal

अचेल तीज आउनु भन्दा १ महिना अगाडी देखि धमाधम तीजका एल्बमहरु बजारमा निस्कन्छन | हामी पनि त्यहीगित सुन्न र रमाउन अभ्यस्त भैसकेका छौ | गाउँघरका दलिनमा झुन्डिने रेडियो र क्यासेटमा पनि अचेल यस्तै गीतहरु घन्किरहेका होलान :

हाइ मेरो फरिया झन् माथि सार्यो झन् तल झर्छ हाइ मेरो फरिया …..|

हुनत गाउँ र सहर बीच तीजलाई मनाउने प्रकृति फरक फरक होलान तर परिवर्तन सर्वब्यापी भएको कुरालाई हामी नजर अन्दाज गर्न सक्दैनौ | शहरतिरको तिजको रमझमको त बयान गरी साध्य छैन | जुन हामीले अक्सर पत्र पत्रिका, टेलिचलचित्र वा कसैको बहसको बिषयमा सुन्दै र देख्दै आएका छौं | करिब एक हप्ता अघि देखि नै दर खाने र खुवाउने जमघट, रवाफिलो पोशाक ,गरगहना आदि इत्यादी तीजका बिकृति हुन् जसलाई हामीले हटाउनु पर्छ भन्ने आवाज पनि बिगत तिर सुन्दै आएकै हौ | यधपी सबैको आआफ्नै सोचाइ र शैलीका कारण सबै आआफ्नै ढंगले तीज मनाउन ब्यस्त भैरहेकै छन | कुन कुरा राम्रो र गर्न हुने कुन कुरा नराम्रो र गर्न नहुने  भन्नु भन्दा पनि मलाई चै परिवर्तनलाई आत्मसाथ्  गर्नपर्छ साथै आफ्नो मौलिकतालाई पनि महत्व दिनपर्छ जस्तो लाग्छ | त्यस देखि बाहेक त अब सबैको आआफ्नै सोचाई र ब्यबहार हो सबैको आआफ्नै रमाइलो गर्ने तरिका पनि |

यी त भए बिगतका कुरा ,यसपाली भने तीजमा पुरुषहरुको बाक्लो सहभागिता चर्चाको बिषय बनिरहेको कुरा सुन्नमा आएको छ | मानिसहरु अब पुरुषहरुले ब्रत बसेर श्रीमतीको पुजामात्र गर्न बाँकी छ समेत भन्दै गरेको सुनेकी छु | बिहान बिहानै टिभीमा आउने तीजका गीतहरुमा महिलाहरुको बिचमा पुरुषहरु नाचेको देखेर पनि यस्ता टिप्पणीहरु आएका हुन सक्छन | त्यसैको प्रतिक्रिया स्वरूप होला सायद बजारमा एउटा गित पनि आएको छ जसमा पुरुषहरुलाई चुरा, पोते सारी लगाएर नाच्न आउन आव्हान गरिएको छ |

मलाई निकै अचम्म लाग्छ | यस्ता वाहियात टिप्पणीहरु किन आएका होलान ? किन र पुरुषहरुले तीजमा सहभागी भएर नाच्न गाउन हुदैन भनेर कुन धर्मशास्त्र वा कानुनमा लेखिएको छ र? लेखेको भए कृपया मलाई भनिदिनुहोला | यो बिषयमा पनि जानी राख्ने थिए | तर यदि पुरुष र महिला एक अर्काको परिपुरक हुन् भने यो हाम्रो चाड यो तिम्रो चाड भनि रहनको औचित्य छ र ? अनि यदि श्रीमतीले श्रीमानको निम्ति ब्रत बस्न हुदा श्रीमानले चै श्रीमतीको लागि किन ब्रत बस्न नहुने? रह्यो कुरा पुरानो मान्यता अनि मौलिकताको | त्यो समय अनुसार परिवर्तन हुदै जान्छ अनि केहि मान्यताहरुको परिमार्जन गर्नु आवश्यक पनि त हुन जान्छ तिजनै मनाउना पो छोड्नु भएन त अथवा टोल नै थर्कने गरि मुन्नी र शिलाको ताण्डव पो गर्न भएन त ! ( कोठा भित्र जे सुकैमा नाचूँ आ आफ्नो रमाइलो गर्ने तरिका हो मैले अघिनै भनिसके) तर सार्वजनिक ठाउ र कार्यक्रममा चै त्यस्तो गर्नु भएन | तर तीजमा  महिलाको बिचमा पुरुषहरु नाच्न गाउन हुदैन भन्नु चै राम्रो हैन | मलाई अझै पनि याद छ गाउँमा तिजको मेला भर्न जानेहरुको हुलमा धेरै जसो पुरुषहरु वा भनौ भर्खरका युवाहरु  पनि  हुन्थे  सुटुक्क भन्नु पर्दा उनीहरुको मनासय चै युवतीहरुको वरिपरी जानु नाच गानबाट रमाइलो गर्नु हुन्थ्यो | मेरै गाउँघरको दाइ हरुले भनेको सुनेकी मैले ! राम्री राम्रीहरुलाई जिस्काउन पनि पाइन्छ रे त्यो मेलामा | फेरी मुखै फोरेर कुनै युवतीले नभने पनि उनीहरुमा पनि पुरुषहरुको उपस्थितिले छुट्टै रौनक आएकै हुन्थ्यो | आखिर तिजको पौराणिक कथा पनि त शिव र पार्वती संग जोडिएर आएको छ भने यसमा के महिला के पुरुष सबै उत्तिकै सहभागी हुदा के फरक पर्छ र ? अझ सोच्नुस त श्रीमान श्रीमती मिलेर अघिल्लो प्रहर मिलेर दर पकाई खाने भोलि पल्ट दुवै जना एक अर्काको लागि ब्रत बस्ने , यस्तो गर्दा उनीहरुको सम्बन्धमा कति आत्मियता र निकटता भरिन्छ होला ! ! यस्तो कुरालाइ त हामीले स्वागत पो गर्नु पर्छ त त्यसै नाना थरि कुरा गर्दै किन हिड्छौ होला हामी ? के यस्ता टिप्पणीहरुमा उही पितृसत्ताकै गन्ध आउदैन त ? जसलाई केहि महिलाहरुले समेत मल जल गरिरहेका छन | आखिर पुरुषहरुको पनि त मन हो रमाइलो गर्न कसलाई मन लाग्दैन र ? अनि पुरुष र महिला एक अर्काको परिपुरक हुन् भनेर पनि किन भन्नु पर्यो त त्यसो भए ?

यो कुरा गर्दा मलाई गाउँ कै एउटा बोर्डिंग स्कुलमा पढाउदा ताकाको घटना याद आउछ | २३ जना शिक्षक शिक्षिका हरु भएको त्यो स्कुलमा एक साल शिक्षिकाहरुलाई मात्र तिजको बिदा दिने निर्णय गरियो | नभन्दै हामी ११ जना शिक्षिकाहरु तिज मनाउदै बस्यौ | भोलि पल्ट स्कुल जाँदा सरहरुको वृतान्तले दिन भरि चर्चा बटुल्यो | सरहरू भन्दै हुनुहुन्थ्यो : ‘ हे भगवान हिजो त स्कुल चलाउन नै गारो भो मिसहरु अरु त जसो तसो गरियो तर नर्सरीको बच्चाहरुलाई ह्यान्डल गर्न कम्ता त गारो भाको हैन ! सबैजना त्यो काम चै एक अर्कालाई पन्छाउदै थिए | अर्को साल तीजमा त हामी पनि बिदा माग गर्ने हो स्कुल कमिटि संग …|’ नभन्दै अर्को साल तीजमा स्कुल पुरै बन्द गरियो | त्यो साल सरहरुले पनि तिजको भरपुर मज्जा लिए | त्यसैले यो सन्धर्भमा हामी एक अर्कामा विभाजित हुदै हैन बरु मिलेर भब्य तरिकाले तिज मनाउ भन्न मन लाग्दैछ | दुवै एक अर्काको परिपुरक हुन् एक बिना अर्को अधुरो छ भन्ने कुरालाई मान्ने हो भने नाचौंन पुरुष मित्रहरु पनि महिलाहरुको माझ,मरी लानु के छ र ?

अन्त्यमा बजारमा निकै चर्चित गितको बोल यहाँ पनि उल्लेख गर्न चाहन्छु  जसले महिला र पुरुष बिचको परिपुरकता र आकर्षणलाइ हास्यात्मक तरिकाले प्रस्तुत गरेको मान्छु र यो गित मलाई मन पनि पर्छ |

Teej_mai_ramri_bhayeko

केटी:

तिजको ब्रत बस्छु मत खान्न पानी पनि वर माग्छु तिमीलाई केहि नहोस है भनि
हे तिम्रै लागि हो
मै राम्री भएको तिम्रै लागि हो
मै मन्दिर गएको तिम्रै लागि हो |

केटा:

बाउको कोटको खल्तीबाट पैसा मैले झिके
तेही पैसाले बजारमा जाली रुमाल किने
हे तिम्रै लागि हो
मै जुल्फी कोरेको तिम्रै लागि हो
बाउको दाम चोरेको तिम्रै लागि हो |

😉
अस्तु !

One thought on “परिवर्तित तिज र पुरुष सहभागिता

Leave a Reply

Your email address will not be published.