मेरो गोर्खा, हाम्रो गोर्खा, र बाबुराम भट्टराई

gorkha करिब एक महिना पहिले जब म देशकै प्रमुख बिश्वबिद्यालय भनि चिनिएको त्रिभुवन बिश्वबिद्यालयमा पहिलो पटक प्रवेश गरेकी थिए, तब एक जना साथीसंग परिचय हुन पुगेको थियो | उनको नाम घर त अहिले सबै बिर्सि सकें   किनकी पचहत्तरै जिल्लाबाट आएका बिद्यार्थीहरुको महासागरमा म अहिले सम्म त अल्मलिइ रहेकी छु भने, त्यति बेला त झन् सुरुवाती अवस्थामा के हुने हो, कस्तो साथी भेटिने हुन आदि अन्योलतामै थिएं | परिचयको क्रममा जब मैले मेरो घर गोर्खा भएको बताएं उनले तुरुन्तै भनेका थिए, "पृथ्बीनारायण शाहले
किर्तिपुर विजय गर्दा किर्तिपुर बासीको नाक कान काटी सत्र धार्नी बनाएका थिए रे नि त हो त ?"

मैले पनि सुनेको सम्म न हो कसरी हो अथवा हैन भनुँ ? अर्को साथीले फेरी ठट्टा गर्दै भन्यो, "हामीलाई त गोर्खाबासी भनिहाल्नु भो तर किर्तिपुर बासीलाई चै नभन्नु होला, सबै मिलेर लखेटलान नि फेरी !!"

" हाहाहा…….. " हाँसो गुन्जियो कक्षाभित्र |

त्यसपछि, मनकामना, गोर्खा दरबार, मनास्लु क्षेत्र आदिको चर्चा भयो | अनि लाग्यो, गोर्खा जिल्ला सबैतिर परिचित छ त्यसमा खुसि लाग्नु स्वाभाविक पनि थियो, खुसि भएँ |

यी त भए इतिहासका गोर्खासंग जोडिएका कुरा | अब, बर्तमान परिबेशमा आफु गोर्खाली भएको बताउदा के कस्ता प्रतिक्रिया आए थोरै कुरा गर्छु |

ति कुराहरु सुन्दा मलाई पहिले त खुसि लाग्यो पछी गहिरिएर सोच्दा उदेक लागेर आयो | वीर गोर्खालीको परिचय देखि बाहेक अचेल नवनियुक्त प्रधानमन्त्री बाबुराम भट्टराईको जिल्लाबासीको बिल्ला भिराइ साथीहरु मसंग कुरा गर्ने गर्छन | त्यसैले अचेल गोर्खाको अर्को परिचय प्रम भट्टराई पनि हुनुभएको कुरा महसुस गर्दै छु, जुन जगजाहेरकै कुरा हो | पछिलो एक हप्ता यता  मसंग परिचय गर्ने साथीहरुले उनको पनि प्रसङ्ग जोडेकै पाएकी छु |

baburam_bhattarai

कुरै कुरामा अर्को साथीले सोध्यो "तपाइंले भोट चै के मा हाल्नु भयो हँ?"

यो प्रश्न मेरो लागि नौलो थिएन| अचम्म लाग्छ मानिसहरु गोपनियताको अधिकारबारे कसरी अनविज्ञ हुन सक्छन? अनविज्ञ नै त नहोलान तर यस्ता प्रश्नहरु पछाडी के कस्तो ध्येय लुकेको हुन्छ त्यो भने प्रस्टै थाहा हुन्छ | भलै त्यो ख्याल ख्यालमै सोधिएको किन नहोस | कतिपय मानिसहरु ख्याल ख्याल गरेजस्तो गरी अरुको मनोवृत्ति बुझ्न सिपालु हुन्छन | बुझ्नेले त्यही ख्याल ख्यालमै धेरै कुरा बुझिसकेको हुन्छ | यहाँ निर, मैले पनि ख्याल ख्यालमा नबुझे जस्तो गरी किन सोध्नुभएको भने |

उसले फेरी सोध्यो "भोट त माओबादीलाई नै गयो होला नि नत्र ३/३ क्षेत्रमा कसरी जित्थे?"

मैले फेरी सोधे "यदि मैले माओबादीलाई भोट हालेको भए वा नहालेको भए दुवै अवस्थामा के हुन्थ्यो? यो केरकार चै आखिर किन ?"

अनि उसले कुरालाई मजाक तिर मोड्दै भन्यो "यदि माओबादीलाई भोट गर्नुभाको हो भने त तपाईलाई देख्ने बित्तिकै मेरो मुटु ढुकढुक हुने भो… हाहाहा "….फेरी कक्षामा हाँसो गुन्जियो |

अब अर्को गफको नमुना: अर्को एकजना साथीले चाहीं म गोर्खाको भन्ने थाहा पाउने बित्तिकै सोधी हाल्यो "के तपाईं जागिरे पनि हो? "

अब, भा’को सानो तिनो जागिर त त्यागेर पढी टोपल्न बिश्वबिद्यालय तिर छिरेको मलाई के जागिरे हो भनि सोधेको होला?

मैले संक्षिप्त उत्तर दिए " हैन, किन र ?"

उसले फेरी भन्यो, "भट्टराइको गाउँले पर्नुभो एउटा जागिर त कसो नमिल्ला भनेर नि! "

मैले बस यति मात्र भने "म चिन्नु न जान्नुको मान्छेलाई खोजी खोजी जागिर दिने भए त छोरी मानुषीलाई त राष्ट्रबैंकको गभर्नर नै बनाउदा हुन् उनले ..|" हाहाहा… फेरी अर्को पटक हाँसो गुन्जियो कक्षाभित्र |

अब, यी कुराहरुबाट तपाईहरु आफै छुटयाउनुस हाम्रो राजनैतिक चेत र धारणा कुन स्तरको रहेछ भनेर | साथीहरुको कुरा सुन्दा यस्तो लाग्यो, कि मेरै भोटले भट्टराईले चुनाब जित्नुभएको हो | त्यसको साटोमा उहाँ र मबीच जागिर खाने र खुवाउने सम्झौता भएको थियो | यस्तो लाग्यो, पहिलेका प्रमहरुको काम मात्र आफ्नो जिल्लाबासीलाई छानी छानी जागिर खुवाउने थियो | जागिर भन्ने कुरा कसैको बिर्ता त हैन नि ! त्यसमा पनि सीप, योग्यता, क्षमताको कुरा आउछ | अझ सेवाभाब हुने र देशलाई हित गर्ने मानिसहरुलाई त्यो तहमा पुर्याउनु पो राम्रो त | अनि त्यसलाई "जिम्मेवारी" भन्ने शब्द दिनु उपयुक्त होला | जागिर भन्ने शब्द कति अपमानित भैसक्यो हामीकहाँ |

सायद अलि बढी नै आदर्शबादी भए कि त म ? तै पनि म आफ्नो योग्यता माथि बिस्वास गरेर अघि बढ्न चाहन्छु | यदि कसैको योग्यता पुग्छ भने त देशलाई पनि त त्यस्तो व्यक्तिको खाँचो हुन्छ नि | अनि, त्यसमा कसैको सिफारिसको के आवश्यकता? अनि, के प्रधानमन्त्री पुरै देशबासीको नभई कुनै जिल्ला वा दलबिशेष को मात्र हुन् र ? हामीमा यहि संकुचितताले त बास गरेको छ नि ! सायद त्यसो हुनुमा पहिले पहिलेको राजनीतिवृतमा देखिएको प्रबित्तिले पनि हो कि भन्ने अनुमान गर्दै छु म |

पहिले जे जस्तो भए पनि अब त्यस्तो नहोस भन्ने कामना गर्दै, पुरै देश भट्टराईमय भैरहेको बेला आफुलाई गोर्खाली भनी चिनाउन पाउदा अहिले जुन खुशी मिलेको छ त्यो पछी सम्म पनि कायम रहिरहोस भन्ने समेत कामना गर्दछु | अनि, अझ गोर्खाली भनेर नेपाल भित्र मात्र हैन हामी सम्पूर्ण नेपाली एउटा सुन्दर, शान्त, संबृद अनि एक्यबद्द नेपालको "नेपाली" भनी बिश्वसामु शानका साथ चिनिन पाउँ भन्ने आशा पनि बोकेर हिडेकी छु |

gorkha_durbar

2 thoughts on “मेरो गोर्खा, हाम्रो गोर्खा, र बाबुराम भट्टराई

  1. excellent work
    … लाग्छ मानिसहरु गोपनियताको अधिकारबारे कसरी अनविज्ञ हुन सक्छन? अनविज्ञ नै त नहोलान तर यस्ता प्रश्नहरु पछाडी के कस्तो ध्येय लुकेको ….

Leave a Reply

Your email address will not be published.