अब फेरी हाम्रो भेट होला त पुष्पा ?

केहि समय अगाडी जोया अख्तर निर्देसित "जिन्दगी नामिलेगी दोबारा " हेरेकी थिए |फ्लिम सामान्य लागे पनि यसको शिर्षकले भने मलाई साच्चै आकर्षित गरेको हो | किनकि फिल्मले भन्दा पनि बढी यसको शिर्षकले मलाई जीवनको सिमितताको बारेमा सोच्न प्रेरित गराएको थियो | समयको रफ्तार संगै त्यो सोचाई बिर्सेको रहेछु | आज फेरी परिस्थितिले मलाई पुन: त्यही सत्यलाई सम्झन अग्रसर गरायो | एउटा यस्तो घटना मार्फत जसलाई म जिन्दगीमा सायदै भुलौला |

big_wide_world

पुष्पा मेरो पुर्व बिद्यार्थी थिइ | पुर्व यस अर्थमा कि उसको र मेरो शिक्षिका र विद्यार्थीको सम्बन्ध स्थापित भएको स्कुलमा आज हामी दुबैको उपस्थिति छैन | म पढ्नको निम्ति काठमाडौँ छिरे उ पनि यतैको कुनै बोर्डिंग तिर सिफ्ट भई | म काठमाडौँ छिरी नसक्दै तर उ बोर्डिंग छिरिसके पछी मलाई अचानक एकदिन उसले कल गरी :

"हेलो, रिता मिस बोल्नु भएको हो?"
"हो ,के थियो होला ?"
"मिस म पुष्पा बोलेको के! क्लास फोरको स्टुडेन्ट,पुष्पा दुवादी |"
"ओहो पुष्पा !!!आज कहाँबाट सम्झियौ ? मेरो नम्बर कसले दियो तिमीलाई ? पढाइ कस्तो हुदै छ ? तिमीलाई आरामै त छ?"

मैले एकैचोटी प्रश्न माथि प्रश्न गर्न पुगे | सायद अकस्मात् यस्तो अनौठो खुसी मिलेकोले होला | उसले भनी :
"यसो स्कुलको फोन डायरी हेरेको तपाइको नबर देखे अनि कल गरेको नि ! मिस तपाई सन्चै हुनुहुन्छ ?"
"अँ म सन्चै छु अनि तिमी नि?"
"म पनि सन्चै छु | अनि मिस मेरो स्कुलको साथीहरु र सर, मिस  सबैलाई सोधेको छ भनिदिनु है?"
"ल ल भई हाल्छ नि ! तिमी पनि मन लगाएर पढ्नु नि !"
"हवस्, थाहा छ मिस अहिलेको स्कुलमा त म खेलहरुमा निकै भाग लिन्छु | यहाँ त फुटबल प्राक्टिस गर्नको लागि केटीहरुको पनि टिम छ | जहिल्यै त्यस्तो गेमहरु भैरहन्छ त!"
"ए हो र ! ल ल राम्रोसंग खेल्नु, राम्ररी पढ्नु तिम्रो फुटबल खेलाडी बन्ने सपना पुरा होस् | प्रयास गर्दै जाउ एकदिन अवश्य सफल हुनेछौ |"
"हुन्छ मिस अब म फोन राखी दिन्छु है ?"
"ल ल राम्ररी बस ल ?"

फोन सम्पर्क टुटे पछी पनि मैले धेरै बेर पुष्पाकै बारेमा सोचिरहे | पहिलो कुरा त मलाई मेरो विद्यार्थीले यति टाढा गएर पनि सम्झिएकोमा (जुन अचेल बिरलै हुन्छ ) र आफु उसको प्रिय टिचर रहेछु भन्ने कुराले खुसी तुल्यायो | अनि दोश्रो खुसी उसले देखेको सपना जसमा मैले थोरै भए पनि हौसला दिएकी थिए, त्यो पुरा गर्ने दौरानमा उ छ अरे भन्ने कुराले भयो | पुष्पा कक्षा ४ कि मेहेनती बिद्यार्थी थिइ | कक्षा ५ देखि भने उ बोर्डिंग तिर गएकी हो | मेरो स्कुल प्रवेशको सुरु सुरु तिर अर्को शिक्षिका साथीले १२/१३ बर्षको बच्चालाई देखाउदै सोध्नु भएको थियो "मिस गेस गर्नुस त उ त्यो बच्चा केटा हो कि केटी ?" यसो हेरे ब्रश्कट कपाल, कानमा ससाना मुन्द्रा , सर्ट पाइन्ट लगाएको, तर स्कर्ट लगाउने केटीहरुको लाइनमा उभिएको ….उसलाई पहिलो चोटी त्यस्तै देखेको हुँ |

आवरण हेर्दा त मलाई केटा जस्तो लागेको हो तर जब उसले हामी उसैको कुरा गर्दैछौ भन्ने थाहा पाई अनि निहुरिएर लजाएको देख्दा भने त्यस्तो लजाउने शैली त केटीहरुको पो हुन्छ भन्ने लागेर मैले मिसलाइ केटी भन्ने जवाफ दिए | जसरी मैले उसलाई एक झलकमै चिनेको थिए उसैगरी उसको सारा स्वभाब, ब्यबहार,शैलीहरु चिनेको रहेछु भन्ने कुरा अहिले आएर महसुस हुन्छ | सबभन्दा खुसी  र म ऊ प्रति आकर्षित त उसको फुटबल प्रेमले गर्दा भए | गाउँको स्कुल जहाँ केटीहरु फुटबल खेल्दैनन | जहाँ केटीहरुको टिम नै हुदैन | त्यहाँ ऊ आफ्नो खेल प्रतिको लगावलाई पन्छाउन नसकेर केटाहरुको टिम मै भए पनि कस्सिएर खेल्न मैदानमा उत्रिन्थी | त्यतिखेर उसलाई खेलमैदानमा देख्दा मेरो आफ्नै खेल्ने कुदने इच्छा (जुन केटी भएकै कारणले मैले कहिले पुरा गर्न सकिन ) प्रबल भएर आएको महसुश हुन पुग्थ्यो | ऊ बलको पछी दौडिदा म आफु दौडिए जस्तो लाग्थ्यो | बलको लागि केटाहरु संग भिड्दा म आफुले संघर्ष गरिरहे जस्तो लाग्थ्यो | त्यसैले मैदान बाहिरै बसेर भए पनि म निरन्तर चिच्याई रहेको हुन्थे पुष्पा !!पुष्पा !! पुष्पा!! पुष्पा !! म यसरी नै उसको लागि हुटिंग गरिरहन्थे | पछी टिम क्याप्टेनले केटीलाई नखेलाउने भन्दै उसलाई बाहिर निकलिदिदा मैले फेरी आफु निकालिएको महसुश गर्न पुगे | पछी शिक्षिकाहरुको पहल सहित पुन उसलाई मैदानमा फर्काइयो | केटाहरुको भागदौड र बल खोसखोसमा उसलाई जति चोट लागेको भए पनि ऊ कति पनि न आत्तिकन खेलिरहेकी थिइ | अनन्त पुष्पा रहेकै टिमको जित भयो | फेरी एकपटक मैले आफुले नै जितेको जस्तो महसुश गर्न पुगे| मलाई थाहा थियो जित पुष्पाको कारणले मात्र सम्भब भएको हैन | सबै खेलाडीको उत्तिकै मेहनत र राम्रो प्रदर्शन ले गर्दा जित सम्भब हुने गर्छ | तै पनि मख्ख परिरहे मेरो पुष्पाको जितको खुसियालीमा |

त्यसपछिका दिनहरुमा केटीहरु पनि फुटबल खेल्न अग्रसर हुन थाले | पुष्पाले जस्तै खेल्ने इच्छा लिएर खेल्न थाल्थे | कोही कोही त डटेरै खेल्थे पनि तर कोही कोही चै पन्छिएर बसेको देख्थे | खैर जेहोस् पुष्पामा भने सबैले राम्रो सम्भावना देखेको कुरा सबैले स्वीकार्थे | उसलाई भेटेको बेला भने म राम्ररी खेल्न, आफ्नो प्रयास जारी राख्न भन्थे | आफुले सुनेको, पढेको त्यस्तो खेलाडीहरुको प्रेरक प्रशंग र जीवनी पनि कक्षामा सुनाउन पुग्थे | सायद त्यसैकारण होला पुष्पाले पनि मलाई आफ्नो प्रिय शिक्षिका मानेकी | त्यही भएर त स्कुल छोडेर गइसके पछी पनि मलाई सम्झिएर फोन गरी !

दोश्रो चोटी ,कुनै अर्को दिन कल गर्दा मैले पनि अब त्यस स्कुलमा पढाउन छोदिदिएको कुरा उसले थाहा पाई | केहि क्षण दुखी भई | खै कुनी किन हो ? सायद उसलाई त्यस्तै कुनै पुरानो स्कुलको दिनहरु याद आयो होला | त्यसपछि म पनि बिश्वबिद्यालय तिर धाउन थाले | अर्थात म पनि काठमाडौँ आएँ | यो थाहा पाएर खुसी हुदै उसले मलाई तेस्रो पटक पनि कल गरी :

"मिस तपाइँ काठमाडौँ मै हुनुहुन्छ रे नि त हो ? कहाँ बस्नु भएको छ? "
"हो म स्वयम्भु तिर ..तिमी कहाँ बस्ने हो रे ?"
"म त्यही सितापाइला त हो नि मिस ! एक दिन सनिबार पारेर सितापाइला चोकतिर आउनु न है | मिस त्यो चोकमा आएर मलाई यहि ड्याडीको नम्बरमा कल गर्नु म तपाईलाई लिन आउछु | मलाई तपाईसंग एकदम भेट्न मन लागेको छ | मिस एक चोटी आउनु न है ?"
"ल ल आइहाल्छु नि ! यो सनिबार त भ्याउदिन अर्को अर्को सनिबारतिर आउला नि ! तिमी राम्ररी पढ्नु ल |"

पछिल्लो सम्बाद त्यस्तै २०६७ फाल्गुनतिर भएको हो | म अलि अलि ब्यस्त पनि थिए | भर्खर भर्खर काठमाडौँ छिरेको मलाई ठाउँहरुको नाम पनि त्यति कण्ठ भैसकेको थिएन | त्यसैले यो सहरमा आफुलाई अभ्यस्त बनाउनमै ब्यस्त हुन थाले | तै पनि मनको एउटा कुनामा एउटा योजना बाँकी नै थियो कि एक सनिबार सितापाइला चोकमा पुष्पालाई भेट्न जानु छ | तर बिडम्बना त्यो सनिबार कहिल्यै आएन |

२०६७ साल सकिएर  २०६८ सालको दशैँले समेत छोपी सकेको थियो | अब त मैले काठमाडौँको ठाउँहरु पनि करिब करिब कण्ठस्थ पारी सकेको थिएँ | तै पनि मलाई कुनै सनिबार फुर्सद मिलेन | त्यसपछि दशैँ तिहार मनाउन घरतिर हिड्ने समय आयो | म आफ्नै संसारमा रमाउदै थिए | चाडबाडको मौसम आयो गयो | काठमाडौँ फर्केपछि पुष्पालाई भेट्न जानु छ , यो ख्याल मनमा आउन छोडेको थिएन |

angelएकदिन अचानक मेरो त्यही शिक्षिका साथीले हतासिदै आएर भनिन्
"तिमीले पुष्पाको खबर सुन्यौ ?"
"अहँ, किन ? के भो?" (मलाई जान्न हतार भैसकेको थियो |)
"पुष्पाको स्कुलमा फुटबल कम्पिटिसन थियो रे | ऊ टिम क्याप्टेन पनि चुनिएको थियो रे खेल्ने क्रममा ऊ नराम्रो संग घाइते भइछ | हस्पिटल नै भर्ना गर्नु परेछ अनि ….
"अनि के ?!?!!" (मलाई औधी हतार भैसकेको थियो मुटु काम्न थालेको महसुस गर्न पुगे |)
"अनि उपचार गर्दा गर्दै …राम्रै संग हाँसेर नै बोल्दै थिइ रे त्यस्तो सिरियस जस्तो पनि लाग्दैन थियो रे तर हुने कुरालाई कसले टार्न सक्छ र ? ऊ अब यो संसारमा रहिन रिता … उसको ड्याडीले हाम्रो स्कुलमा कल गरेर भन्नु भएको रे !"

म त्यतिबेलाको आफ्नो अवस्थाको बर्णन गर्ने सक्दिन | मलाई खै ठुलो ढुंगाले मुटुमै किचिएको जस्तो भारी भयो | उसको प्रतिबिम्व आँखा अगाडी नाचीरहे | उसको हसिँलो मुहार, लजाउने शैली ,उसले खेलेको त्यो दिनको खेल ,कक्षामा उसको उपस्थिति सबै एक एक गर्दै मानसपटलमा घुमी रहे | उसले ‘मिस मलाई भेट्न आउनु न है भनेको कुरा कानैमा गुन्जिरह्यो | मलाई सबभन्दा अफसोस त उसलाई अन्तिम पटक भेट्न नपाएकोमा भयो | मैले आफुले आफैलाई दोषी यस अर्थमा सम्झिए कि सायद उसको अन्तिम इच्छा मलाई भेट्नु थियो तर मेरो जीवन प्रतिको अनभिज्ञताले गर्दा त्यो पुरा हुन पाएन | जिन्दगी मान्छेले साच्चै एक पटक मात्र पाउदो रहेछ | मौका पनि साच्चै एकचोटी मात्र आउदो रहेछ |

म सधै सोचिरहन्थे ..त्यो काम भोलि गर्छु के हतार छ र ? मसंग यत्रो समय छ गर्दै रहुँला नि ! तर समय नै त आखिर दुर्लभ चिज रहेछ जसलाई पर्याप्त छ भनि सोच्ने गल्ति हामी बारम्बार गर्दा रहेछौ | उही मेरो साथीले भनेको ‘उसको जीवन त्यही फुटबल ले लिनु रहेछ, किन त्यति प्यारो भएको होला फुटबल त्यसलाई … बिचरीले सँसार चिन्नै नपाइ, आफ्नो सपना पुरा गर्नै नपाइ जानु पर्यो’ भन्ने कुरा सम्झीरहे | मन भरिएर आँसु थाम्नै सकिन |

पुष्पा मेरी बिद्यार्थी थिई तर मलाई नै उसले जीवनको यति ठुलो अर्थ सिकाएर गई कि जीवन एक चोटी प्राप्त हुने चिज हो अनि यसमा दोश्रो मौका कहिलै पनि आउदैन | आँटेको काम गरिहाल्नु ,जिन्दगीको प्रत्येक पलहरुको आनन्द आजै उठाई हाल्नु | आजको लागि बाच्नु सिर्फ आजको लागि ..के थाहा भोलि नआउन पनि सक्छ |

आज पनि मलाई पुष्पालाई अन्तिम पटक भेट्न नसकेकोमा उत्तिकै अफासोश लागिरहन्छ | सायद जीवनभर लागी नै रहनेछ | 

अब फेरी हाम्रो भेट होला त पुष्पा ??

angel2

One thought on “अब फेरी हाम्रो भेट होला त पुष्पा ?

  1. रीता जी , हजुरको अनुभव हरु सप्पै पढे आज यो ब्लगमा . मन नै चसक्क भयो अनि आखा सजल थिए थाहै नपाई यो लेख पढ्दा . Thank You for such a lovely संस्मरण and teaching us a lession of life that we tend to forget from time to time.

Leave a Reply

Your email address will not be published.