बिर्कोले देको दुख र … घिच्न जानेको सबारी …

कस्तो उडाए भने आज दिनभर प्रधानमन्त्री झलनाथ खनाललाई दुरबिनको बिर्कै नखोली के हेरेको भन्दै।

jhal-nath

केटाहरुले बुझ्नु पर्ने नि – ‘त्यसै त झल्लु भइन्न, प्रमाणित नि गर्न परो। भएन शिवरात्रीको दिनको फोटो पो हो त यो… प्रधानमन्त्री पनि शिवभक्त हुन सउछन् नि…’

[ झलनाथले कुन कुन कुरो मा बिर्को लाको छ भन्ने थाहा पाउने भे त मन्त्रीपरिषद जामानामा बन्थ्यो होला नि ]

***

अफिसबाट निस्कने बेला, कोही सहकर्मीको बाइकको पछाडी बस्न पाइन्छ कि भनेर ढुकेर बस्ने मेरो बानी परिसकेको छ। कसैको बाइक पाइएन भने चाहिँ म ‘अंगुर अमिलो थियो’ भन्ने भाकाले ‘हिड्नुपर्छ स्वास्थ्यका लागि’ भन्दै हिंडेरै झम्सिखेलस्थित कार्यालयबाट नजिकको गाडी स्टेशन पुल्चोकसम्म पुग्छु।

बाइकको पछाडि बस्न पाइएका बेला साथीहेरी कसैकोमा घरसम्मै आउन पाइन्छ। कसैले शहिदगेट, रत्नपार्क वा लैनचौरसम्म छाड्दिन्छन्। आज प्रकाश घिमिरेको बाइक पछाडि बसेर लैनचौरसम्म आएँ। लैनचौरबाट प्रकाश नयाँ बजार तिर लागे भने म महाराजगञ्ज जाने सडक तर्फ लाग्नुपर्ने थियो।
पूर्व निर्धारित नभए पनि लैनचौरमा दुग्ध विकास संस्थान अगाडि ओर्लिएकाले त्यहाँबाट दही र रसबरी किन्न मन लाग्यो। दुई किलो दही र एक किलो रसबरी किनेर प्लास्टिक झोलामा झुण्डाउँदै महाराजगन्जतिर लाग्ने सडकमा आएँ र टेम्पुमा चढें। एकैछिनमा टेम्पु ड्राइभरले ‘छ्या आज नि सवारी रहेछ’ भन्दै टेम्पुलाई राजदरबार पछाडिको बाटो तर्फ मोडे। अर्का एक जना बुढी आमासँगै म पनि उत्रिएँ।

ती बुढी आमै पानीपोखरी आउने रहिछन् र शहिदगेट तिरबाटै चढेकी रहेछन् र होला भाडा दिइन्। म त्यहीबाट चढेकाले भाडा दिइन। मैले नदिएको भाडाको रिस ड्राइभर दाइले सवारीलाई गाली गरेर पोखे, ‘जाँ*हरु सँधै सवारी भन्छन्। काम गरेर खान नि निदिने भए।

बुढी आमाको झोला गह्रौं देखिएकाले हात लगाइदिउँ कि भनेर अगाडि बढाएँ, तर बुढीले दिइनन्। मेरो पनि एउटा झोला काँधमा र अर्को तीन किलोको झोला हातमै थियो। अगाडि हिड्दै थिएँ। चोकमै पाँच जना सशस्त्र प्रहरीका बीचमा बसेका एक जना नेपाल पुलिसका जवानले आफ्ना साथीहरुसँग कुरा गरेको सुनें, ‘राँडीको छोराको सँधै हुन थाल्यो यार सवारी पनि।’ मलाई ती पुलिसको नाम जान्न मन लाग्यो। अलिकता अगाडि बढिसकेको भए पनि फर्केर गएँ। उस्को थर राना थियो।

अलिकति हिडेपछि याद गरें-निजी गाडी र मोटरसाइकलहरुलाई चल्न दिएकै रहेछ। आफ्नो सवारी साधन नहुनु भनेको अपराध गरे जस्तो पो रहेछ यहाँ भने जस्तो लाग्यो। सार्वजनिक सवारी साधनमा हिड्नुभनेको त गल्ती पो रहेछ। करिब १० मिनेट जति हिड्दै लाजिम्पाट तिर आइपुगें।

निजी गाडी पनि सडकमा एकदम कम चले। पाँच सातवटा गाडी अगाडि र पछाडी तथा पाँच छ वटा बत्तीवाला मोटरसाइकल कारगेटको बीचमा एउटा मर्सिडिज बेन्च हो कि कुन गाडीमा चढेर नेपाली दौरा सुरबाल टोपी लागेका पुरुष र साडी ब्लाउजमा सजिएकी  तिनकी श्रीमती होलिन् एक जोडी  लैनचौर तिर हानिएको देखे‌। मलाई रिस उठ्यो। एउटा त गाडी बेस्करी कुदाएको भए धेरै बेर सवारी जाम हुन्थेन, बडो ढलिमली चालले बिस्तारै सवारी बढेको थियो। अनि राष्ट्रपतिको सवारी होला भनेको त प्रधानमन्त्री झलनाथ खनाल पो थिए गाडीमा।

अब टेम्पु माइक्रो आउला र टिचिङ हस्पिटलसम्म जाउँला भन्दै बिस्तारै हिड्दैथिएँ। गाडी त झन् पातलिन थाले। सडक किनारमा एउटा बैंकको एटिएम काउन्टर नजिक बसेका गार्डले अर्का साइकल यात्रीलाई भन्दै थिए, ‘मु* देशीले आफ्नो पावर देख्या होला नि। बेकारमा मान्छेलाई अप्ठेरो पारिरहेको छ।’

मैले गार्डलाई राष्ट्रपतिको होइन सवारी त प्रधानमन्त्रीको रहेछ भनें। उनले ‘प्रधानमन्त्री त गइसके नि अब राष्ट्रपति जान लागेका हुन् त्यो बेलामा त पुरै सडक जाम हुन्छ’ भने। ए! भन्दै म फेरि बाटो लागें। पानीपोखरी आउनेबेलामा त पुरै सडक सुनसान भयो। बाटाभरी छरिएका ट्राफिक प्रहरीले कुनै साइकल मात्र देखे भने पनि चिच्याएर किनारा लगाउन लगाइहाल्थे।

म पुरानो अमेरिकी दूताबास रहेको स्थानितर आउँदा राष्ट्रपतिको सवारी चल्यो। लस्करै १५ वटा जति गाडी थिए। आठ वटा सेता मोटरसाइकलको बीचमा रहेको गाडीमा राष्ट्रपति महोदय हुनुहुन्थ्यो। यो गाडीको गति त झन् प्रधानमन्त्रीको सवारीको भन्दा पनि कम थियो। मानौं ‘मलाई हेर म कति चिन्तित छु राष्ट्रबासी प्रति’ भन्ने गम्दै राष्ट्रपतिले सडकका दुबै तर्फ ध्यान दिएर हेर्दै गुडिरहेका छन् वा कहिल्यै नदेखेको शहरमा पुगेका बालकले दुबै तर्फका घर गन्दै हिडिरहेको छ।

राष्ट्रपतिको सवारी सकिएको पाँच मिनेट पछाडि गाडीहरु चल्न थाले। म त्यतिन्जेल मुल सडक छोडेर हिँड्दै घर जाने छोटो बाटो प्रहरी अस्पताल तर्फ लाग्ने सडकबाट भित्री बाटो तताएँ। मनलाई बुझाउन खोजें – आजको सवारीले १२ रुपैयाँ जति टेम्पु भाडा जोगियो। करिब तीन किलोमिटर जति हिडियो। शरीरमा फूर्ति बढ्यो।

मन त के मान्थ्यो र ? साँझ कार्यालय समयपछि ६ बजेको बेलामा भएको सवारी जामले कतिलाई दुःख पुग्यो होला। कति जना बिरामी असहायहरु पनि हिड्न पर्यो होला। साना छोराछोरीलाई घरमा छोडेर जागिरबाट बेलैमा घर फर्किन हतारिका कति महिलाको मनमा अत्यासको डेरा लाग्यो होला। तिनका छोराछोरीले ‘ममी कुने बेला फर्कने ? रात परिसक्यो’ भनेर फोन पो गरे होलान्।

जति जति मनमा कुरा खेल्न थाल्यो रिस बढ्दै जान थाल्यो। मैले जान्न खोजे, त्यत्रो हुल बाँधेर सडक जाम पारेर कहाँ मोर्यारैछन् तिनीहरु भनेर। एउटै फोनबाट पत्ता लगाएँ, सेनाले भोज आयोजना गरेको रहेछ। त्यही घिच्नलाई तिन्ले यतिविघ्न कष्ट हाम्लाई दिएका रैछन्। मनले थामि नसक्नु गरी पो राष्ट्रपति र प्रधानमन्त्रीहरूलाई गाली गर्न थाल्यो, ‘साले गधाहरु देशबासीको जीवन सहज बनाउने कुनै काम त तिमीहरुले गर्न सक्दैनौ, कम्तिमा आफ्नै कारणले जन साधारणको दैनिकीलाई अप्ठेरोमा पार्ने काम त नगरो।’