जनशक्ति पलायन – के यो समस्या हो त ?

brain-drain आज ट्विटरमा एउटा समस्याको बारेमा छलफल गरियो, जनशक्ति पलायनको बिषयमा | तर यो छलफलको अन्त्य सम्म पुग्दा मलाइ यो समस्या ‘समस्या’ नै होइन भन्नेमा म विश्वस्त हुन पुगेको छु | नेपालमा जनशक्ति पलायनले एउटा बिकराल रुप लिएको सुन्दै आएको र आफैँ पनि सो "अपराधको दोषी" भएको ठान्दै आएको मलाई आज खुशी के लागेको छ भने – यो अपराध नभएर एउटा परापुर्ब काल देखि हुदै आएको मानब शुलभ आबश्यकता पो रहेछ |

राज्य, देश र सरकारले हामीलाइ बिदेशीलाइ घृणा गर्न सिकाउनु त आफ्नो स्वार्थ पुरा गर्ने पुरानो हत्कण्डा मात्र रहेछ | "देश प्रेम" भनेको त प्रेम नभएर घृणा लाइ ‘प्रेम’ शब्दको खोल ओडाएको मात्र पो रहेछ | प्राचीनकालमा जति पनि युद्धहरु भए प्राय सबै राजा वा देश प्रमुखका स्वार्थका लागि भए | जति पनि युद्ध भए सबै रानी, राजकुमारी, धन सम्पति, वा धर्मका लागि मात्र भए, जनताका लागि लड्ने राष्ट्रप्रमुख त कोही पनि भएनन |

सो बादबिवादका सहभागी एकजना ले भने "कुनै अविकशित वा विकासोन्मुख देशले ब्रेन-ड्रेन रोक्न सकेको छैन, नेपालले पनि सक्दैन- रोक्ने प्रयासै गलत हो। उपयोग,सुधार गर्नुपर्छ|" कुरा केही हद सम्म ठिक हो | अविकशित वा विकासोन्मुख देश मात्र होइन बिकशित देशबाट पनि केही मानिसहरुमा अरु देशहरुमा बसाइ सराइ गरिरहेका हुन्छन, भन्न मात्र ‘जनशक्ति पलायन’ नभनिएको हो | जस्तो कि, क्यानडा बाट अमेरिकामा हुने जनशक्ति पलायन पनि एउटा ठूलो समस्या मानिदै आएको थियो | राम्रो अबसर दिन नसक्ने देशले मानिसलाई देश भित्रै थुनेर राख्न खोज्नु तर्कसम्मत हुँदा पनि हुँदैन |

सो बादबिबादका सहभागी एक जनाको भनाइ जस्ताको तस्तै सार्दा : "बिदेशिनुलाई गलत मान्नुहुँदैन,दिक्षित भएर देशको सेवामा जुट्न हामी अग्रसरहुनुपर्यो, मुटुमा नेपाल हुनु पर्छ … विकास रातारात सम्भव छैन, तर हामी जे छौँ, जति गर्न सक्छौँ – त्यसको मात्रा बिस्तारै बढाउने हो भने हरेश मान्नु पर्दैन |"

बादबिबाद संचालन गर्ने ट्विटरका साथीहरुलाई मुरी मुरी धन्यबाद, मेरो आँखा खोल्न सहयोगीको भूमिका खेलिदिनु भएकोमा र आनन्दजी लाइ यो सानो टिपोटलाइ आफ्नो ब्लगमा स्थान दिनु भएकोमा|

– अनुप रेग्मी