एब्स्ट्रयाक्ट चिन्तनः प्याज – शङ्कर लामिछानेको निबन्ध (भिडियो सहित)

Shankar Lamichhane 2024 madan puraskarनोट – आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शङ्कर लामिछानेलाइ २०२४ सालमा ‘प्याज’को लागि मदन पुरस्कार प्रदान गरिएको थियो । माइकल कर्विको लेखमा आधारित भनेर लेखिएको ‘आभा गार्देको सौन्दर्यशास्त्र’ नामक लेख उपर कुमुदिनि नामक एक लेखकले साहित्यिक चोरिको आरोप लगाए पछि लामिछानेले लेख्नै बन्द गरिदिए। आजको प्रस्तुति मलाइ एकदमै मन परेको निबन्ध “एब्स्ट्रयाक्ट चिन्तनः प्याज ” यो भिडियोमा प्रयोग भएको निबन्ध वाचन आवाज रुपेश श्रेष्ठको हो र यो वाचन  ‘मेरो रेडियो’ को लागि गरिएको थियो। वाचनको शुरुमा सानो गल्ति रहेछ जसलाइ मैले मेरो आवाजमा रेकर्ड गरेको थिएँ पछि मिलाउन भनेर बाङ्देलले बोलेका र व्यथितले बोलेका वाक्य मेरो आवाजमा रेकर्ड गरेको छु । (कमेन्ट गर्नुहोला)  – आनन्द नेपाल

https://www.youtube.com/watch?v=1yp2FfgWrj8

एब्स्ट्रयाक्ट चिन्तनः प्याज

हिजो साँझ बाङ्देलजिलाइ नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- “शङ्करजि, तपाईँको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।”

“कस्तो लाग्यो ?”

” मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैलि प्रयोग गर्नुस् न ।”

“एब्स्ट्रयाक्ट पेन्ट गर्ने त तपाईँको काम ! म कहाँ पेन्टिङतिर जाऊँ अब ।”

“होइन, पेन-पिक्चरमा एब्स्ट्रयाक्ट शैलि प्रयोग गर्नुस् न ।”

म हाँसिरहेँ । (हाँस्न जान्नु पनि ठुलो कला हो ! मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन् ।) हाँसेर मैले बाङ्देलजिलाइ बिदा दिएँ, र कुरालाइ पन्छाएँ पनि ।

‘व्यथित’जिको हातमा ‘हिमानि’ को कभर डिजाइन थियो । देख्‍नासाथ बुझिन्थ्यो बाङ्देलको बुरुस हो । त्यसरि नै जसरि ‘हिमानि’ नाम सुन्नासाथ ‘व्यथित’ को कलमको सम्झना आउँछ । भन्नुहुन्थ्यो- ”तपाइँजस्तो कलम चल्ने मान्छे, एउटा कथा एक-दुइ दिनमा लेखेर दिनुस् न ! म विदेश जाँदै छु यसलाइ छपाउन विजयादशमिको साइतमा झिक्ने ।”

म हाँसिरहेँ । (हाँस्न जान्नु पनि ठुलो कला हो ! कुन मानिससँग कसरि हाँस्नुपर्छ त्यो जानिएन भने रोएको बराबर दुःख पाइन्छ ।) हाँसेर मैले ‘व्यथित’ जिलाइ बिदा दिएँ, र कुरालाइ पन्छाउन खोजेँ पनि !

तर, मनबाट न ‘व्यथित’ गए, न बाङ्देल, न हिमानि, न एब्स्ट्रयाक्ट ! मन पनि कमालको वस्तु हो- त्यसमा कुरा पसेपछि निकाल्न गारो छ निकाल्न खोज्यो, आफ्नो व्यक्तित्व र कुराको स्वयंको व्यक्तित्वमा सङ्घर्ष भइदिन्छ । मनबाट, फेरि त्यहि कुरा पसेकै रुपमा किमार्थ निस्कँदैन- त्यसको काँचुलि फेरिसकेको हुन्छ । मैले मन पल्टाउन थालेँ, हेरिहालूँ यसमा खेलिरहने कुरा पनि कत्ति छ !

‘व्यथित’ जि ! कृष्णले मुख खोलेर यशोदालाइ विश्वरुप देखाएका थिए । तपाईँ आज मेरो विश्‍वरुप हेर्नुहोस् मेरो मनमा के छ ? तर पहिले म तपाइँलाइ एउटा कुराको सम्झना दिइहालूँ । म बिसौँ शताब्दिको (अङ्ग्रेजि !) एउटा बुद्धिजिवि हुँ । मध्यवित्त परिवारको, विवाहित, केटाकेटिको बाबु, तरुनो, स्वस्थ, निर्माणको भावनामा दत्तचित्त, सोझो नागरिक ! र म चिन्तित छु, मेरा अनेक समस्या छन् ।

सबभन्दा ठुलो समस्या हो- म दसगजा जमिनमा उभिएको छु । एकातिरको सिमानामा मेरा पुर्खाको विश्‍वास छ, एकातिरको सिमानामा मेरा सन्तानको विश्वास ! म स्पुतनिकको उडानमा खुसि पनि हुन्छु चन्द्रमाको धुलोमा रुसको हँसिया-हतौडा अङ्कित चिहृन उतारेको सुन्दा मलाइ यस्तो गौरव अनुभव हुन्छ मानौँ हँसिया-हतौडा मेरै घरबाट खुश्चेभले मागेर लगेका थिए । र अर्कोतिर, चन्द्रमामा ग्रहण लागेको बेला पेटमा कुनै गर्भिणिले छोइदिन्छे कि भन्ने म पिर पनि मान्दछु- च्यामेपोडेलाइ दान पनि दिन्छु, मानौँ महाराज मनु मेरा छामिछाने परिवारकै बाजे हुन् । म समाचारको निमित्त अखबारहरु, गोरखापत्रदेखि लिएर टाइम र न्युज विकदेखि लिएर फिल्म-फेयर र रोमान्स पनि पढ्छु । मलाइ प्रत्येक खबरमा एक विश्वास सँगाल्नुपर्दछ, परिरहेको छ । म्यारिलिन मनरोको हात्महत्या र एलिजाबेथ टेलरको नयाँ प्रेमको समस्या पनि मेरो मनमा छ ! मेरो मनमा डयाग हृयामलरसोल्डको मृत्यु, युएनओका कार्यबाहि, यु.थान्ट, अमेरिका र रुसको शितयुद्ध, लाओस्, सुएज, गलवानभ्यालि, काश्मिर, मलाया, इरियन सिलोन……सब समस्या मेरा मनमा छन् । हेनरि मिलरको ‘ट्रपिक अफ क्यान्सर’ पढेँ, अब ‘क्याप्रिकर्न’ कहाँ पाउने ? सर विन्स्टन चर्चिलको तिघ्रा भाँच्चियो, बन्छ कि बन्दैन ? युएनओमा नेपालले के भन्ला ? कङ्गोले कतापट्टबिाट भोट बढ्ता पाउला ? छोरालाइ टाइफाइड भएको निको भयो, आज अब मासु पाइने हो कि होइन, एकादशि आजभोलि दुवै दिन रे, एक वैज्ञानिकले घाँसबाट दुध निकाल्ने प्रयोग सफलतासाथ गरे, अराष्ट्रिय तत्वले सिमानाभित्र पसि फलानोलाइ गोलि हान्यो, फ्रान्सका राष्ट्रपतिलाइ हत्या गर्ने प्रयास गरियो, एल्जेरियाको समस्या कसरि सुल्झने हो, अलबेयर कामु पनि र एल्जेरियाकै हो, उसको आजकल ‘मिथ अफ सिसफस’ पढ्दै छु, टेलिभिजनको प्रसारण टेल्सटरले युरोपमा उपलब्ध गरायो, पारिखेतमा ज्यापु मर्‍यो, मलाइ ‘जा-नए-धुन-ला-बाज्या’ भन्थ्यो, त्यसको छोराछोरि छैन, बाङ्देलको पनि त छोराछोरि छैन, एब्स्ट्रयाक्ट चित्रण गर भन्छ, हिमानिको कभरजस्तो, ‘व्यथित’ को भाषाजस्तो ……….

यस्ता असङ्गत अनेक विचारमा सिमानाको बिचमा मैले आफ्नो व्यक्तित्वको दसगजे किनारा राखेको छु । भन्ठान, ओ ‘व्यथित’ हरु र बाङ्देलहरु, मेरो जिवन नै एउटा एब्स्ट्रयाक्ट जिवन हो, यसबाट त म रोज पन्छिरहेछु, रोज यसलाइ पन्छाइरहेछु । रोज मेरो प्रातःकाल ‘तरकारि किन्न पैसा चाहियो’ बाट प्रारम्भ हुन्छ, रोज मेरो मध्यान्ह पैसा आउने बाटो खोज्नमा खर्च हुन्छ, रोज मेरो सन्ध्या ‘अलि बढ्ता थाकेर आएछु’ मा समाप्त हुन्छ । रोज मेरो परिचित कतै मर्दछन्, तिनको मृत्यु भुल्नुमा अलिकति समय खर्च हुन्छ । रोज अलि इतिहास सम्झिन्छु, रोज अलि भविष्यको रेखाङ्कन गर्दछु, रोज अलि वर्तमानको मुल्याङ्कन गर्दछु । रोज मोलमोलाइ, खरिद-बिक्रि, बन्धक-ब्याज गर्दछु- आफ्ना आस्थाको आफ्ना विश्वासको आफ्ना इच्छा-आकाङ्क्षाको । ‘आज ल्याएको मासु, नोकरलाइ सुकुचाले ठगेछ, जम्मै हाडैहाड….’ ‘आजको दुध एकदम पातलो’….’दाउरा कत्ति चिसो, कत्ति महँगो’- यिनै सब कुराको घेरा छ जो गृहिणिले, बच्चाले, भान्छेले उदार भनि मेरै मनमा पोख्तछन् । यसभन्दा बाहेक अरु उदार छन् जो म स्वयं आफ्नो मनमा कोचिटोपल्छु- आजको पार्लियामेन्टमा नेहरुले यसो भन्यो, त्यसमा कति सत्य होला ! खुश्चेभले बर्लिनबारे चालेको यो नयाँ कदमले संसारमा के असर पर्ला ? विश्वयुद्ध भयो भने कहाँबाट सुरु होला ? थ्यालिडोमाइड औषधिले कति बच्चाको जिवन अन्धकारमय हुने हो ? आह ! एल्प्रेड नायस कहाँ मर्न पुगेछ ? तर उसको पहाडमै मर्ने इच्छा थियो रे !

बाङ्देलजि ! कुनचाहिँ मानिसको जिवन एब्स्ट्रयाक्ट छैन ? कुनचाहिँ मानिसको जिवन घृणित छैन कमसेकम उसको मौनताले आफ्नो दुर्गन्ध नढाकुञ्जेल ? कुन मानिसको भावना घृणित छैन कमसेकम मुस्कानका तरेलिले त्यसलाइ नपुरुन्जेल ?

कुन मानिसको मनमा लोभ छैन-कमसेकम नाराले त्यसलाइ नमारुन्जेल ? ‘व्यथित’ जि ! ति सतयुगे ऋषिमुनिहरुको जमाना छैन अब ! अब त प्रत्येक जागरुक मान्छेको मस्तिष्क कृष्णको विराट् रुपभन्दा कम सानो छैन ।

आजको प्रत्येक मान्छे एक भगवान् हो । यस्तो भगवान् जसले आफ्नो संसार स्वयं निर्माण गरेको हुन्छ-छलले, कपटले, धोखाले, हत्याले, ऐनले, गैरजिम्मेदारिले, अन्धविश्वासले, भक्तिले, श्रद्धाले, मुर्ख्याइँले । आजको भगवान् फेरि धर्ममा घेरिएको पनि त हुँदैन, उसले आफ्नो प्रतिद्वन्द्वि क्राइस्ट र मोहम्मद र बुद्धमा पनि आउँछ । फेरि आज भगवान् अलि डिप्लोमेट पनि छ- पुरेतजस्तै !…. ‘यसो गर्न त कसो नहोला, पुरेतजि ? -ज्यु हुन्छ’…..जस्तो । आजको भगवान् फेरि अनिश्वरवादि पनि छ-बुद्धजस्तै । र आजको भगवान्लाइ मानिसले कन्ट्रोल गरेको छ – बर्थ कन्ट्रोलजस्तै । भगवान् चाहियो, हाजिर छन्, भगवान् चाहिएन, गायब छन् ! जत्ति मात्रामा चाहियो, उत्ति मात्रामा आउँछन् । कविताको निम्ति चाहियो, छन्दबद्ध भइ हाजिर, स्तुतिको निमित्त चाहियो, कोष भइ हाजिर चाकरिको निमित्त चाहियो इन्साइक्लोपिडिया भइ हाजिर-‘गरिब परवर (उर्दुमा !), करुणानिधान (संस्कृतमा !), ख्वामित् (शुद्ध भानुभक्ते नेपालिमा !)….अँ ! भन्दै थिएँ, आजको मानिस स्वयं भगवान् बनिसक्यो, उसमा ति सब गुण व्याप्त छन् जो एक इश्वरमा हुनुपर्दछ- सिर्फ एक गुण आजको मानिसले हराएको छ, र त्यो हो मानिसको गुण ! त्यो सच्चा मानिस जो सिर्फ छ र मरुन्जेल मानिस नै भइरहन्छ र मानिसकै रुपमा मर्दछ ।

आजको मनुष्यत्व हराएको तर भगवान् हुन नसकेको, मानिस खोज्नुपर्ने भए, ‘व्यथित’ जि र बाङ्देलजि ! मकहाँ आउनुहोस् । मभन्दा ठुलो अमानविय अरु मानिस तपाइँ पाउन सक्नुहुने छैन र अरुले स्वयं मजस्तो आफ्नै परिचय पनि दिने छैन ! के गरूँ, ‘व्यथित’ जि ! मैले आक्रोशमा आफुलाइ अमानविय भनेको होइन । म, हेर्नुस न, हिन्दु, सबै भगवान् त मन पराउँछु नै, मलाइ कसोकसो क्राइस्ट र बुद्ध र मुहम्मद पनि मन पर्छन् । मलाइ इश्वरउपरका सबै प्रकारका आस्था र उसका नाममा भएका सबै प्रकारका अत्याचारहरु पनि मन पर्छन् । ति नभएका भए- ति क्रुसेडहरु, ति शङ्कराचार्यका हमालाहरु, ति अशोकका धर्मदुतका विजय यात्राहरु, ति तुगलक शाहका जेहादहरु- ति सब नभएका भए आज ‘व्यथित’ हरु हिन्दु, बाङ्देलहरु इसाइ तथा शङ्करहरु मुसलमान कसरि हुन्थे, म सबैमा विश्‍वास गर्ने र कुनैमा पनि श्रद्धा नगर्ने हुन सक्थेँ कसरि म ‘अहँ ब्रहृमाऽस्मि’ भन्न सक्थे जब मलाइ आफुउपर विश्वास नभइ अरुउपर हुँदो हो । म त आजको मान्छे होइन, ‘व्यथित’ जि ‘ म एक हजार वर्षपछि जन्मिने पृथ्विको मान्छे हुँ । मेरो जन्मकालमा राष्ट्रका परिधिहरु, विश्वासका परिधिहरु, धर्मका परिधिहरु, राजनितिका परिधिहरु, केहि पनि हुने छैनन् !!

आज जो म दसगजामा उभिएको छु – त्यसको कारण अब भनिदिऊँ, तपाईँहरुलाइ । म चाहन्नँ तपाइँहरुको घेरामा आफुलाइ पार्न । म चाहन्नँ तपाइँको रङमा डुबल्कि लगाऊँ । सिमउना नाघेपछि त मैले नागरिकता लिनैपर्छ- यसकारण म अनागरिक । म स्वयं एक सिमाना हुँ जसले वर्तमानलाइ भुतबाट र भुतलाइ भविष्यबाट अलग गरेको छ ।

तपाइँले सिमाना देखेकै होला ! दस-गजाको बिचमा एक पञ्चमुखि लिङ्ग अज्ञात रुपबाट निर्मित- जसलाइ कसैले बेलपत्र चढाउँदैन तर जसलाइ सार्न पर्‍यो अथवा हटाउनुपर्‍यो भने बलि चढाउनुपर्दछ अनेकका रगतको । यो सिमानाको रङ के हो । बाङ्देलजि ! सेतो ? (जस्तो लट्ठामा हुन्छ ‘) खैरो ? (जस्तो माटोमा हुन्छ !) रातो ? (जस्तो मानचित्रमा हुन्छ !) बग्ने ? (जस्तो नदिनालामा हुन्छ !) अदृश्य ? (जस्तो हिमालका टाकुरामा हुन्छ !) यि सिमाना रेखालाइ, तपाइँ बाङ्देलजि ! यदि एब्स्ट्रयाक्ट चित्रण गर्न सक्नुहुन्छ भने म पनि मेरो एब्स्ट्रयाक्ट चित्रण गर्न सक्दछु ।

तपाईँले त्यो नगरुञ्जेल, नसकुञ्जेल म पनि अव्यक्त रहन चाहन्छु । मैले आफुलाइ आज एब्स्ट्रयाक चित्रण गरेँ भने त्यसलाइ बुझ्न फेरि पेरिसको वातावरणमा सास फेर्नुपर्नेछ । मेरो एब्स्ट्रयाक चित्रण पढ्नलाइ तपाईँलाइ फेरि ‘एक दिन त’ घोक्नुपर्नेछ ।

यसकारण म हाँसिदिन्छु ।

यसकारण मेरो हाँसोमा विभिन्नता छ । एउटा ‘व्यथित’ लाइ, अर्को बाङ्देललाइ, अर्को मेरो छोरालाइ ।

यसकारण म बाँचिरहेछु, किनभने मैले आजसम्म अरुलाइ र आफुलाइ नै रियलिस्ट चित्रण गरेको छु ।

रियलिष्ट चित्रणमा त, म एउटा प्याज हुँ-रङ्गहिन, पत्रैपत्रले मोडिएको, अनन्त दुर्गन्ध र गहिराइ ।

आजको कृष्णको विराट् रुप पनि त प्याज हो । त्यसकारण, बाङ्देलजि प्याजको एउटा स्टिल-लाइफ लेख्‍नुस् । त्यसकारण ‘व्यथित’ जि, प्याजमाथि एक महाकाव्य लेख्‍नुहोस् । तपाईँहरुको त्यो कृति ऐतिहासिक हुनेछ- कारण त्यसमा आजको व्यक्तिको र आजको समाजको दुर्गन्ध अनन्त पत्रमा अनन्त कालसम्म सञ्चित रहनेछ । र त्यहि चित्र र त्यहि काव्यमा म पनि अनन्त कालसम्म बाँचिरहनेछु ।

त्यो चित्र र त्यो कविता आज लेखिएन भने, भोलि, ‘हिमानि’ को मृत्युमा, बाङ्देलको मृत्युमा, शङ्करको मृत्युमा, भविष्यले आजको इतिहास गुमाउनेछ ।

….. एक हजार वर्षपछि सिमाना हराए जस्तै ।

Leave a Reply

Your email address will not be published.