तिजको परिचय र तिजका अन्ध बिश्वासहरु

happy_teej(तिजका गीत सुन्नको लागि क्लिक गर्नुहोस | यो बर्ष फिल्मि कलाकारहरुले मोडलिंग गरेका तिज गित् यहाँ जानुहोस)

आज नेपालमा हिन्दु महिलाहरुको सबै भन्दा ठुलो पर्ब, हरितालिका तिज, मनाइँदै छ । परापुर्बकालमा पार्वतिले महादेवलाइ पति पाउनका लागि कठोर व्रत गरेको प्रसंगलाइ आधार मानेर तिज मानाउने गरेको बिश्वास गरिन्छ ।

यस पर्बमा अबिबाहित महिलाहरुले महादेव जस्तै सुयोग्य र आदर्श वर पाउँ भनेर ब्रत लिने गर्दछन भने बिबाहित महिलाहरुले आफ्नो पतिको सुख, समृद्धि, दिर्घायु र सुस्वास्थ्यको कामना गरेर ब्रत लिने गर्दछन ।

तिजका प्रमुख पाँच बिशेषताहरु:

  • भोकै ब्रत
  • रातो सारि (दुलहिको जस्तो पहिरन)
  • तिजका गितहरु
  • तिजका नाचहरु
  • शिवको पुजाअर्चना

तिज भाद्र शुक्ल द्वितिया देखि पञ्चमि सम्म ४ दिन मनाइन्छ।

  • पहिलो दिन – दर खाने (राति अबेर खायो भने भोलिपल्ट दिन भर भोकै बस्न सजिलो होस भनेर)
  • दोश्रो दिन – ब्रत बस्ने दिन (नाचगान र पुजा अर्चना)
  • तेश्रो दिन – गणेश चतुर्थि
  • चौथो दिन – ऋषि पन्चमि (पुजा अर्चना गर्ने दिन)

भिडियो परिचय:

दर खाने

तिजको दिन जल समेत नखाई ब्रत बस्नुपर्ने हुनाले तिजको अघिल्लो दिन बिभिन्न परिकार तथा मिष्ठान्नहरु तयार गरि ब्रतालुहरुले दर खाने प्रचलन छ ।दरमा ठाँउ अनुसार मिठा-मिठा परिकार खाने गरिन्छ । बिशेष गरि खाने कुराहरुमा खीर, सेलरोटि, केरा/फलफुल आदि मिष्ठान्न भोजनहरु  हुन्छन। तर, आजकाल अरु बिभिन्न परिकारहरु सर्ब सुलभ रुपमा उपल्ब्ध हुने हुँनाले दरका परिकारमा पनि आधुनिकता आएको छ।

पहिला दर बिहान उज्यालो हुनु भन्दा पहिले खाइ सक्ने चलन भए पनि  आजकाल घडिको सर्बसुलभताका कारण मध्यरात १२ बजे अघि नै दर खाने चलन बसेको छ। चिनजानका साथिहरु, नातेदार आदिलाइ बोलाएर दर खुवाउने प्रचलन पनि रहेको छ । आजकाल तिज आउनु भन्दा धेरै अघिदेखि नै दर खाने बहानामा जमघट गर्ने प्रचलन बढेको छ।

तिजमा माइतिले (चेलिका बाबु आमा वा दाजुभाइले) छोरि/चेलिलाइ घरमा बोलाएर संगै बस्ने, मिठा-मिठा परिकार खाने र दुख सुख साटासाट गर्ने पुरानो चलन हो । माइत जाने, घरका दुखसुखका कुरा बिसाउने साथि संगिहरुलाइ भेटने हिसाबले तिज र दर खाने प्रचलन पहिलेका महिलाहरुमा छुट्टै महत्व राख्ने गर्दथ्यो ।

तिजको दिन

यो दिन महिलाहरु विहान सबेरै उठेर नुहाइ धुवाइ गरेर दिनभरि जल र अन्न नखाइ ब्रत बस्ने गर्दछन । बेलुका टोल र छिमेकका महिलाहरु जम्मा भएर मण्डप तयार गरेर भगवान शिवको आराधना गर्ने चलन छ । आजकाल धेरै महिलाहरु दिउसो नै पुजा आराधना गरेर फलफुल र पानि खाँने चलन शुरु भएको छ ।

यस दिन ब्रतालु महिलाहरु रंगिचंति लुगा, धागो, पोते, गरगहना आदि लगाएर विभिन्न तीर्थस्थल, मन्दिर आदिमा गएर शिव पार्वतिको पुजा उपासना गर्दछन । तेस्तै तिज सम्बन्धी नाच गान, भजन, चुट्का आदि गाएर पनि यस दिन रमाइलो गर्ने गरिन्छ । यस उपलक्ष्यमा गाईने सँगिनि गित नेपालि लोकसंस्कृतिमा अत्याधिक लोकप्रिय छ । आजकाल यस्तो गितहरु ब्यपारिकरण गरेर पुरुषहरुले पनि गाउन साथ दिने प्रचलन पनि शुरु भएको छ ।

यस दिन काठमाण्डौंको पशुपतिनाथमा ठूलो मेला लाग्ने हुनाले यस दिन पशुपति क्षेत्रमा पशुपतिनाथको दर्शनको लागि भनेर् पशुपतिका चारवटै ढोका खोल्नुका साथै विशेष तयारि गरिएको हुन्छ ।

गणेश चतुर्थि (गणेश चौथि)

यो दिन तिजको भन्दा पनि गणेशको पुजाको दिन भनेर् बिशेष महत्व रहेको छ । भारतको महाराष्ट्रमा गणेश चतुर्थिको ठुलो मेला लाग्ने र धुमधामका साथ मनाउने चलन छ । नेपालका केहि स्थानहरुमा यो चौथिमा “चौथि हान्ने” भनेर फलफुल चोर्ने चलन पनि छ । चौथि हान्दा चोरिको बात नलाग्ने र पाप नहुने बिश्वास गर्दै बालबालिकाहरु छिमेकिका फलफुल चोर्ने गर्दछन । तर आजकाल यो चलन बिस्तारै लोप हुँदै गएको छ । यो दिन चन्द्रमा हेर्न नहुने एक अन्धबिस्वासि परंपरा पनि छ ।

ऋषि पञ्चमि

तिजको चौथो दिन, ऋषिपञ्चमिका दिन, व्रतालु महिलाहरुले ३ सय ६५ वटा दतिवनका डाँठले दाँत माझी नजिकैको नदी, तलाउ, धारा तथा कुवामा गइ स्नान गर्ने चलन छ । पहिला सजिलै पाइने यो बनस्पति संरक्षणको अभावमा जंगलबाट नासिँदै जान थालेको बताइन्छ ।दतिवनको पात, फुल, जरा, बिउ, डाठ आदि सबै भाग औषधिय गुणले भरिएको मानिन्छ।

हिन्दु शास्त्रहरुका अनुसार बर्ष भरि महिलाहरु रजस्वला हुँदा छुन नहुने कुराहरु अन्जानवस छोइएकामा लाग्ने पापबाट मुक्त हुन ३६५ वटा दतिवन टोकेर माटो र गाइको गोबर लगाएर ३६५ पटक नै नुहाउनु पर्ने उल्लेख छ । महिलाहरू पुर्णरूपमा सुद्ध हुन गरिने कार्यहरु निम्न छन:

  • ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउने
  • माटो र गोबरले शरीरका सबै अंगहरू छोएर सुद्ध बनाउने
  • तिलचामल र जौ चाल्निमा राखेर माथिबाट पानि खन्याई छानिएको पानिले नुहाउने। तिलचामल र जौ गनिएका हुने हुनाले तिनलाइ गनौति पनि भनिन्छ ।
  • सप्त ऋषिको पूजा

datiwan

कतिपय कुराहरु अन्धबिस्वास जस्तो लाग्ने भए पनि तिज आफैंमा एक सुन्दर चाड हो । यो पर्वमा बसिने निराहार र निर्जला ब्रत अबैज्ञानिक र स्वास्थमा हानि गर्ने सम्भावना भएकोले फलफुल ग्रहण गरेर ब्रत बस्नु  वैज्ञानिक र फलदायि नै हुन्छ। नारिहरूले तिजमा लगाउने रातो टिका, रातो कपडा, रातो चुरा, पोते आदि सबै गरगहनाले उनिहरुको सौन्दर्यता बढाउने र तिजको दिन गरिने नाचगान र हर्षोल्लासले दुख भुलेर रमाइलो गर्ने वातावरण मिल्ने बिश्वास् गरिन्छ ।

तिजका अन्धबिस्वासहरु

  • निराहार र निर्जला ब्रत बस्नु – कहिलेकाँहि ब्रत बस्नु राम्रै मानिन्छ । तर, पानि पनि नखाइ ब्रत बस्नु भनेको अबैज्ञानिक र हानिकारक छ । पानिको कमिले शरिरका अंगहरुले काम गर्न छोड्ने, बेहोस हुने आदि हुन सक्छ । तेसैले तिजको ब्रत बस्दा पनि पाइ पर्याप्त मात्रामा खानु पर्ने हुन्च । साथै फलफुल पनि खानु अझ लाभदायक हुन्छ ।
  • ब्रत बसे महादेव जस्तो वर पाइन्छ – यो समयमा महादेव जस्तो ब्यक्तिलाइ पुलिसले पक्रेर थुन्छ । गाँजा, भाँग, धतुरो खानु गैर कानुनि हो । ब्रत बस्दैमा देवता जस्तो वर पाइने भए कतिपय धार्मिक आइमाइका लोग्नेहरु किन राक्षस जस्ता हुन्छन ? तेसैले ब्रत बस्नु र नबस्नुले यस्तै श्रिमान पाइन्छ भन्ने हुँदैन । नेपाल र भारत बाहेकका बिदेशि महिलाहरुले त ब्रत बस्दैन – के उनिहरुले नराम्रो बर पाएका छन त ?
  • ब्रत बसे श्रिमानको आयो बढ्छ – एउटा मानिस ब्रत बस्दैमा अर्को मानिसको आयु कसरि बढछ होला? ब्रत बस्दैमा श्रिमानको आयु बढ्ने भएको भए सबै ब्रत बस्ने श्रिमतिका श्रिमान जिउँदै रहनु पर्ने होइन? बरु, माया गर्ने श्रिमान छन् भने भोकै ब्रत बस्दा श्रिमतिलाइ गार्हो भयो भनेर चिन्तित भएका श्रिमान को आयु घटन पो सक्छ, होइन र? तेसैले ब्रत बस्नु वा नबस्नु र आयुको कुनै सम्बन्ध देखिंदैन।
  • ऋषिपञ्चमिका दिन माटो र गोबरले योनि लगायतका अँगहरु छुने – गाइको होस या कुनै पनि जनावरको गोबरमा किटाँणुहरु हुन्छन । ति किटाणुले संक्रमण गरे भने बिरामि हुने र ज्यानै सम्म जान पनि सक्छ । माटोमा पनि तेस्तै र अझ बढि किटाँणुहरु हुन सक्छन । तेसैले माटो, गोबरको सट्टा सावुन पानिले सरसफाइ गर्नु पर्ने हुन्छ ।
  • ३६५ वटा दतिवन टोक्ने – हुन त दतिवन औषधिय गुँडले भरिपुर्ण बनस्पति हो । तर यसको डाँठ टोक्दा के फाइदा होला अनुसन्धान नै गर्नु पर्ने हुन्छ । तर, यो टोक्ने चलन यसको डाँठ परापुर्बकालमा टुथपेष्ट जस्तै दाँत सफा गर्ने प्रयोग गरिने हुनाले एक बर्ष भरि नमाझेको दाँत साँकेतिक रुपमा एकै चोटि माझेको भनेको हो । बर्ष भरिको खाना ३६५ पटक एकै दिन खाएर हुन्छ ? हुँदैन! तेस्तै हो दतिवन टोक्ने पनि, एक चोटि राम्रो संग दाँत माझे हुन्छ; दतिवन टोक्नु पर्दैन ।
  • चौथि हान्नु वा चोर्नु – चोर्नु अपराध हो । मानिसले मेहनत गरेर हुर्काएको फलफुल चोरिदिंदा कति पिडा हुन्छ होला ? तेसैले बच्चहरुलाइ चौथि हान्ने कुरा सिकाउनु हुँदैन ।

तिजका राम्रा कुरा

  • स्वतन्त्रता – तिजको दिन घरायसि कामलाइ छोडेर स्वतन्त्र र खुशि हुँदै घर बाहिर डुल्छन।
  • तिजका गित – तिजका गितमा आफ्नो दुख, बेदना र अधिकारका कुराहरू समेटेर गाउछन् । यसले महिलाहरूलाइ सशक्त बनाउँन सहयोग पुर्याउंछ ।
  • नाच – नाच्दा ब्ययाम पनि हुने हुनाले स्वस्थकर पनि हुन्छ ।
  • ब्यपार ब्यबसायलाइ फाइदा – भडकिलो फेसन गर्ने महिलाहरुले धेरै खर्च गरेर आँफ्नै खुट्टामा बन्चरो हान्न सक्छन् तर त्यसले ब्यपार ब्यबसायलाइ फाइदा दिनुका साथै जागिरको लागि अबसर पनि बढाउछ । तेस्तै गायक, गायिका, नाच्ने कलाकार आदिले तिजका गित तयार गरेर फाइदा लिन सफल भएका छन । ब्यपारि करणले नयाँ कन्सेप्टका गित हरु तयार हुने वातावरण मिलेको छ ।

केहि समय पहिले रिता बरमले लेखेको लेख परिवर्तित तिज र पुरुष सहभागिता अझै पनि उत्तिकै सान्दर्भिक भएकोले पढ्न अनुरोध गरिन्छ !

नोट: यो लेख सन २०१२ मा प्रकाशित गरिएको थियो, आज september 15, 2015 मा यस्लाइ परिमार्जन र अपडेट गरिएको छ र साथै “सजिलो नेपालि” प्रयोगको लागि सबै ह्रस्व बनाइएको पनि छ । September 6, 2016 मा फेरि यो पेजलाइ अपडेट गरिएको हो ।

Leave a Reply

Your email address will not be published.