उखान टुक्काहरुको धनि नेपालि भाषा मा चलन चल्तिमा रहेका केहि उखान टुक्काहरु जाति बिशेष, महिलाहरु र अपांगहरुलाइ होच्याउने, जिस्क्याउने र दवाउने प्रकारका पनि छन । कुनै कालखण्डमा ठिकै सुनिने त्यस्ता उखानहरुले कतिपय मानिसहरुको आत्मविश्वासमा ठेस पुर्याउँछन, चित्त दुखाउँछन । तेसैले आजकल समाजमा त्यस्ता भनाइको प्रयोग गर्नु हुंदैन भन्ने जन बिश्वास बन्दै गएको छ। मैले केहि समय अघि जात जातिलाइ होच्याउने खालका उखान टुक्काहरु जम्मा गरेर एक लेख लेखेको थिएँ। अहिले तेस्तै महिलालाइ होच्याउने खालका उखान हरु जम्मा गर्ने जमर्को गरेको छु । यो सुचि तयार गर्ने प्रेरणा एक ट्विटरका मित्रबाट मिलेको हो । उनको ट्विट यस पोष्टको अन्त्यमा एम्बेड गरेको छु ।
यहाँ जम्मा भएका उखान टुक्का प्रयोग गर्दा महिला पुरुष, महिला महिला र पुरुष पुरुष बिच पनि बैमनष्यता बढ्ने, मानसिक आघात पुग्ने र समाजलाइ नै नराम्रो असर पुग्ने सम्भावना भएको हुनाले यि उखान प्रयोग नगर्नुहुन सबैलाइ अनुरोध छ । तर एक चोटि प्रयोग भएर प्रचलनमा आइ सकेको उखान टुक्कालाइ हटाउन वा मेटाउन त पक्कै मिल्दैन । तर, तिनलाइ प्रयोग नगर्दा ब्यक्तिगत र सामाजिक सदभाव कायम राख्न सजिलो हुन्छ :
- आइमाइको रुद्रघन्टि हुदैन!
- पोथि बासेको सुहाएन
- घि का लड्डु टेडा भला । (मधेशको उखान)
महिलालाइ उपभोग्य बस्तु जस्तो ब्यबहार गर्ने पुरुष प्रधान समाजको झझल्को दिने यि उखानहरुले हाम्रो समाजको कुरुप रुप देखाउँछ:
- बैंशमा बिसवटा पोइ, मर्ने बेलामा कोहि न कोहि।
- मर्दका १२ ओटि जोइ!
- गुन्द्रुकलाइ पकाउनु पर्दैन र सालि फकाउनुपर्दैन
- गुन्द्रुकको खानु झोल, कमारिको खानु मोल
- लट्ठि टेके भर, कान्छि ल्याए घर
एकल महिलालाई अपमान गर्ने चलनचल्तिमा रहेका केहि उखान अति नै अमानविय छन् । बिधवा, वा बच्चा जन्माउन नसक्ने महिलालाइ होच्याउने, खिस्याउने यस्ता उखान त कहिल्यै पनि प्रयोग नगर्नुहोला है ।
- नामर्दको भर नपर्नु, राँडिको भोज नखानु
- विधवालाइ ढोग्दा म जस्तै भएस् भन्छे रे
- गरिबलाई दिन्छु नभन्नु, राँडिलाइ लान्छु नभन्नु
- ग्राहक रत्याउनु, राँडि अत्याउनु
- राँडिलाइ पोतेको रहर
तेस्तै छोरिमान्छेलाइ होच्याउने अरु उखानहरु :
- आफ्नि छोरि नखरमाउलि, तन्नेरिलाई दोष। (छोटा लुगा लगाउनेलाइ महिलालाइ होच्याउने / उढाउने यहि मानसिकताले गर्दा होला)
- खोलि बढे बटुवालाई पिर, छोरि बढे माइतिलाई पिर
- दुध उम्ले अँगेनामा, छोरि उम्ले खाल्डोमा
- छोरो पाल्नु सहरमा, छोरि पाल्नु कहरमा
- जसका छोरा उसका धन, जसका वस्तु उसका वन
यि उखानको बारेमा लेख्न प्रोत्साहन दिनुहूने Yankee लाइ धेरै धेरै धन्यवाद ।
आईमाईको रुद्रघन्टी हुदैन !
— Yankee (@zarabuy) April 16, 2018