कोमल वली दरको साटो पिज्जा / बर्गर पस्किदै

Komal_oli_3

श्रीमानलाई ससुराली पठाएर आफू चै घरमा तीज माने कसो होला ? … दरको साटो पिज्जा वा बर्गर नै खाए झन मस्ती हुन्थ्यो होला नि तीजमा…

कोमल वली नेपाली लोक गायन क्षेत्र कि स्थापित कलाकार हुन् | उनी जति चर्चित छिन बिगतमा त्यतिनै बिबादित पनि थिइन् | सायद चर्चा र विवाद एक अर्काको पर्याय नै बनिसकेको छ | अचेल त्यसैले कहिले “पोइल जान पाम” त कहिले “धत्तेरिका शिबजी रहेछौ बदमास” जस्ता गीत गाएर उनी जति चर्चामा आइन् त्यति नै बिबादमा पनि परिन् | अरुभन्दा अलग गरेर देखाऊँ भन्ने चाहना प्राःय सबैको हुन्छ र त्यही मनसायले उनले यस्ता पृथक गीतका गाएको हुनुपर्छ | यधपी पृथकतामा पहिचान खोज्ने क्रममा यसपटक भने उनी आफुले पहिलै हासिल गरेको पहिचानलाई समेत धरापमा पार्दैछिन भन्ने यो पंक्तिकारलाई लागेको कुरा हो |

यतिखेर हिन्दुनारीहरुको महान पर्ब तीज नजिकिदै गर्दा रेडियो र टिभीमा धमाधम तीजका गीतहरु बजिरहेका छन | प्रत्येक बर्ष झैँ यसपटक पनि बिष्णु माझी, देवी घर्ती, शोभा त्रिपाठी लगायतका लोक गायिकाहरु “सुनको चूरा”, “तिम्रैलागी हो” जस्ता बोलका गीतहरु लिएर बजारमा आइपुगेको अवस्था छ | ती गीतहरु हेर्दा र सुन्दा टिभीको पर्दानै तीजमय भएको अनि अहिलै नै हाम्रो घर आँगनमा छिन छिन चूरा बजाउदै , नाच्दै र गाउँदै तीज आइपुगे जस्तो रमाइलो महसुस हुन्छ | अनि साच्चै नै बिगतमा छोरीमान्छे हुनुको पीडा पोख्ने महिलाहरु अचेल आफू हुनुमा गर्व गरिरहेको भान पर्छ| यो राम्रो परिबर्तनको संकेत पनि हो | तर बरिष्ठ गायिका कोमल वली भने यसपटक “बबाल तीज ” भन्ने एल्बम मार्फत डिस्को कल्चरलाई तीजमा भित्र्याउने कोशिश सहित देखा परेकी छिन | जसमा आधुनिक पहिरनमा सजिएर, डिस्को शैलीमै नाच्दै, बीच बीचमा र्र्यापको छनक दिने अंग्रेजी शब्दहरु पनि मिसाउदै भन्छिन “नाचौं हामी डिस्कोमा तीज कम अन लेट्स ह्याभ अ सेलिब्रेसन “…| पर्दामा यो दृश्य हेर्दा अजिब तस्बिर शिर्जना भए जस्तो लाग्छ या सिधा सिधा भनौं उनीजस्ता बरिष्ठ कलाकारलाई कतिपनि सुहाएको छैन तीजमा डिस्को नाचेको …|

komal oli

तीजको विशेषता भनेकै रातो, हरियो, पहेलो रंगहरु हुन् जुन रंगका कपडाहरु र गहनामा सजिएर छोरीचेलीहरु माइती ,घर, समाजदेखि देशसम्मका वृतान्त गीतमार्फत पोख्ने गर्छन| शिवजीको पुजा गर्नु, ब्रत बस्नु, दर खानु यसैमा हाम्रो संस्कृति झल्किन्छ| अघिल्ला बर्षहरुमा हरियो अनि रातो पहिरनमा सजिएर नेपाली चलन अनुसार पोइल जान पाम भने पनि वा शिबजीलाई गाली गरे नि हामीले स्वीकार्ने पर्छ ती गीतहरु मार्फत उनी निकै जमेकी थिइन् र त्यसले महिलाको अभिव्यक्ति स्वतन्त्रतालाई फराकिलो पनि बनाएकै हो| हामी कहाँ कसैले नि गन्धर्ब बिबाह गरेछन भन्ने चलन छैन| फलानी त पोइल गइछ नै भन्ने चलन छ | यो शब्दलाई कहाँ कसरी प्रयोग गर्ने भन्ने कुरा बेग्लै बहसको बिषय बन्ला तर हो त आखिर ठेट नेपाली शब्द नै | अनि आफ्नो सुख दुख भगवान संग प्राथना गर्ने पनि चलनै हो |

तर, उनले यसपटक डिस्को कल्चरलाई अंगालेर नेपाली परम्परालाई पर सारेको हो भन्नुमा कुनै आपत्ति नहोला | अनि समयको माग हो भन्दै युवाबर्गलाई आकर्षित गर्ने उनको उद्देश्यमा पनि कुनै तूक छैन| निश्चयनै परिबर्तन समयको माग हो समय अनुसार आफुलाई परिमार्जन गर्दै लैजानु पनि पर्छ | त्यसो भन्दैमा दरको साटो पिज्जा वा बर्गर खाएर होला त? कि श्रीमानलाई ससुराली पठाएर आफू घरमा तीज माने होला ? भलै समय अनुसार तीज परिमार्जन हुदै आएको हामीले देखे भोगेका छौ तर कोही श्रीमानहरुको भिड ब्रत बसेर तीजलाई  तीज जस्तै गरी मानेको देखेको छैनौ | बरु परिवर्तन गर्ने हो भने भड्काउ र खर्चिलो तीज बिरुद्द कैची चलाउं वा दैनिक जीवनमा महिलाहरुले भोग्नु पर्ने अफ्ट्याराहरु बिरुद्द ! किन र परिबर्तनको नाममा आफ्नो संस्कृतिलाई  नै ओझेलमा पार्नुपर्छ र ?

dance-disco आजकाल हाम्रो मौलिक संस्कृति हराउदै गएकोमा प्राय सबैलाई चासो अनि चिन्ता हुने गर्छ| अनि पश्चिमी शैलीलाई पछ्याउनेहरुलाई यदाकदा गाली पनि गरिन्छ | डिस्कोमा नाच्ने, आधुनिक पहिरनमा हिड्ने युवा जमात धेरै छन हामी कहाँ | फेरी सबैको आफ्नै व्यक्तिगत रुची, इच्छामा पनि त भर पर्छ | यधपी हाम्रो सभ्यता मात्र राम्रो उनीहरुको नराम्रो भन्नु आजको समयमा मुर्खले मात्र भन्ने कुरा हो | बरु अरु बेला आफ्नो स्वतन्त्रताको उपयोग गरे पनि आफ्नो संस्कृतिलाई नाबिर्सिउ र त्यसको जगेर्ना गरौ भन्ने मान्यता चै राम्रो हो | अनि के कोमल वली जस्ता कलाकारले त्यो पनि तीजको माहौलमा युवाबर्गलाई आकर्षित गर्ने अभिप्रायले उनीहरुकै रंगमा रंगिदैमा युवाहरु आकर्षित होलान त? न त त्यसले तिजको मौलिकता नै जगेर्ना गर्ला? बरु अरुबेला लोक गीत भनेसी नाक खुम्च्याउनेहरु नि तीजका रौनक दिने रमाइला मौलिक गीतहरु सुन्न र आनन्द लिन तम्सिएको देखेकी छु |

त्यसैले हाम्रो मौलिकतालाई हामी भित्रै सिमित गरौ | सके त्यसको जगेर्ना गर्दै अन्तराष्ट्रिय स्तरमा प्रचार गरौ नसके त्यसलाई धमिलो पनि नबनाऔ | सबैले बेलैमा होस् पुर्याउनु पर्ने बेला आएको छ |

यो पनि पढ्नुहोस ->

One thought on “कोमल वली दरको साटो पिज्जा / बर्गर पस्किदै

  1. साचै आज यो नेपाली समाजमा पश्चिमी समाज भित्राउन तिर लागेजस्तो लाग्छ हामीले हाम्रो कला संकृति जोगाउन तिर लाग्नुपर्छ नेपाली संस्कृति वनेको हाम्रो गहना हो

Leave a Reply

Your email address will not be published.