पकेटमारको फेला पर्दा

शहरमा चोर लाग्र्छ !

शहरमा पकेटमारहरुको बिगबिगी हुन्छ !

शहरमा गाउँका सोझा मान्छेहरुलाई ठग्ने, हेप्ने गरिन्छ !

त्यसैले शहरमा सजग भएर हिड्नु पर्छ !

यस्ता  कुराहरु धेरै सुनेकी थिए गाउँमा |

ह्या… कसरी ठग्छन ? कसरी चोर्छन ? हाम्रो आँखा,दिमाग नभएको हो र?

pickpocket_warning यस्तै कुराहरु गरेर टारी दिने गर्थे | तर, अघिल्लो बिहिबार थाहै नपाइ आफू पकेटमारको सिकार बने पछी भने यस्ता तितो यथार्थहरुसंग साक्षात्कार् भएको महशुश गर्न पुगे |

भर्खर भर्खर शहर आएर सानो तिनो काम गर्न थाले पछी मलाई मेरो बोसले प्राय भनिरहनु हुन्थ्यो, कि तिमीले यो शहरमा संघर्ष गर्ने क्रममा मात्र असली जीवन के हो भनेर बुझ्नेछौ | यहाँ दिनदिनै संघर्ष गर्नु पर्छ र पल पलमा सतर्क रहनु पर्छ | तिमी माइक्रो चढेर आफ्नो डेरामा फर्किनलाई समेत संघर्ष गर्नु पर्छ | अरुलाई ठेलेरै जान सक्नु पर्छ | यदि त्यसो गरेनौ भने र सबै गएपछी पसौला नि भन्छौ भने ढाड कुप्रिने गरेर उभिनु पर्छ, नत्र अर्को अनि अर्को माइक्रोलाई कुर्दैमा तिम्रो समय जान्छ तर पनि तिमी सहज संग यात्रा गर्न सक्दैनौ | तिम्रो गाउँ जस्तो कहाँ हो र यो शहर ? यहाँ स्मार्ट बन्नु र देखिनु पर्छ | नत्र तिमीलाई कसैले पत्याउने छैनन् | तिमी हुनु र नहुनुमा केहि फरक हुने छैन  आदि आदि | हुन पनि सुरु सुरुमा अरु ठेलम ठेल गर्दै माइक्रो चढे पनि म भने मानिसहरु किन यस्तो जंगली भाको होला ? पालै संग चढ्नु नि भन्दै यो हुल मूल सके पछी चढ़ौला  भनेर पालो कुरेर बसी रहन्थे | त्यसो हुदा ढाड नै कुप्रिने गरेर उभिनु पर्ने हुन्थ्यो | अझ उभिनु मात्र परे त हुन्थ्यो नि मानिसहरुको चाप, यदाकदा दुर्ब्यबहार समेत सहनु पर्दा चै मैले पनि आफुलाई जंगली बनाउनै पर्यो | केवल आरामसंग सहज यात्राको खातिर |

त्यो दिन पनि त्यस्तै भयो | आफ्नो रुटको माइक्रो आउदा झटपट चढीहालौ भनेर भिडलाई चिर्दै पछाडिको सिटमा गएर बसें | एउटा युद्द नै जिते जसरी खुइय गर्दै सुस्ताउन मात्र के लागेको थिएँ यसो हेर्छु त मेरो ब्याग त खुला पो देख्छु त ! मलाई राम्रो संग याद थियो अफिसबाट निस्कदा राम्ररी बन्द गरेको थिए | ब्याग भित्र हेरे , किताब लगायत सबै सामान थियो तर पर्स चै थिएन | आत्तिएर सबै खोतेलेर हेरें अहँ देख्दै देखिन | त्यस पछी बल्ल महशुस गरे मेरो पर्स चोरी भएछ |

मलाई आफैलाई सम्हाल्न गारो पर्यो | ‘लौन मेरो पर्स चोरी भयो ‘ भनेर एक छिन भित्रै छटपटिए | बाहिर जाउ भने पनि चोर कहाँ पुगीसक्यो | फेरी त्यत्रो मान्छेलाई पन्छाएर कसरि जाने ? मेरो दिमाग शुन्य नै भएर आयो | फेरी छटपटिन थाले | किनकि माइक्रोको भाडा तिर्ने पैसा समेत मसंग बाकीं थिएन | जीवनमा पहिलो पटक यस्तो परिस्थिति भोग्दा मलाई सारै रुन मन लाग्यो तर आफुलाई सम्हाल्नै पर्यो के गर्ने ? संगैकी एउटी महिलाले ‘कसरि चोरी भयो त ‘ भनेर सोध्नु बाहेक मानवीयताको ढाडस समेत प्राप्त भएन मलाई | त्यसैले भन्दा रहेछन मानिसहरु यो शहर स्वार्थी छ भनेर | हुनत मानिसका सदभावले पनि मेरो सामान फिर्ता आउने त थिएन नै आखिर | अनि सानोतिनो चोरी हो भनेर पनि कसरी चित्त बुझाउ ? त्यस भित्र मेरो मोबाइल जुन मानिसको अभिन्न अंग भैसकेको छ अनि परिचय पत्र , क्याम्पस भर्नाको लागि राखेको रकम , साँचो र अरु सामानहरु थिए | बाटै भरि आँखा वरीपरि ती चिजहरु घुमिरहे | मेरी आमाले दिनु भएको त्यो पर्स मेरो लागि सारै प्रिय थियो | म उपहारहरुलाई सारै प्रिय ठान्छु | चाहे त्यो सानो कागजको टुक्रा नै किन नहोस ? झन् त्यो त आमाले दिनु भएको ..|

हरे यस्तो दिन पनि देख्न र भोग्न पर्ने रहेछ भन्ने मन मनै सोचे | साथीहरुले बरु मलाई अब दुखि नहुन भनेर सम्झाए | त्यसले पनि अलि अलि राहत महसुश मिल्दो रहेछ | त्यस्तो महत्वपुर्ण सामान बोकेर नहिड्न सुझाब दिए | त्यसैलाई आत्मसात गर्दै जसो तसो यो घटनालाई बिर्सने कोसिश गरे र गर्दैछु | तर एउटा नमिठो याद बनेर मस्तिस्कमा चै बसिरहन्छ होला | शहरको एउटा तितो भोगाई बनेर …| यधपी यो घटनाले मलाई केहि पाठहरू भने अवश्य पढाएको छ | जे हुनु भै हाल्यो आउदा दिनहरुमा चै फेरी यस्तो नहोस भनेर सजक हुनु बाहेक अब मसंग अरु विकल्प पनि त छैन |

One thought on “पकेटमारको फेला पर्दा

  1. कस्तो नमज्जाको संस्मरण तर मज्जाले लेखिएको …. तर लेखाक या लेखिकाको नाम पनि छैन एस्तो किन होला ?

Leave a Reply

Your email address will not be published.