नेपाली कलाकारहरुको दरिद्र मानसिकता

namrata_shrestha_2अघिल्लो हप्ता सुन्दर नायिका नम्रता श्रेष्ठसंग सक्षात्कार् हुने सुनौलो अवसर पाएँ | त्यो अवसर त्रिविको शैक्षिक नाटकको दर्शक बन्ने क्रममा मिलेको थियो | "ओलिएना" नामको उक्त नाटकका कलाकारहरु उनी लगायत अनुप बराल,दिया मास्के इत्यादी थिए | सेलिब्रेटीहरु भन्नाले हामी जस्तै तर अलि बढी प्रतिभाशाली र त्यसको प्रदर्शन पहुँच भएका व्यक्तिहरु हुन् भन्ने सोच्दा सोच्दै एउटा साधारण दर्शक मन उनीहरुको उपस्थितिमा त्यसै त्यसै आकर्षित अनि अचम्भित बन्दो रहेछ | अझ नम्रता त मेरो नजरकी नेपाली सिने जगतकै अत्यन्त सुन्दर नायिका, उनी प्रति म हुरुक्कै हुनु स्वाभाविक नै हो |

म्युजिक भिडियोको सुरुवाती दिनहरुमै मलाई उनी सारै राम्री लाग्ने, उनले अभिनय गरेको फिल्म "सानो संसार" र "मेरो एउटा साथी छ " हेरे पश्चात त झनै उनको सुन्दरता, अभिनय, नृत्य कौशलताले  मेरो मनै लोभ्यायो | उनको जीवनमा आएको तीता आरोह अबरोहलाई जुन आत्मविश्वास र साहसका पार गरिन् त्यसपछि म अझ एउटी नारीको हैसियतमा उनको कदर गर्ने नै भएँ |

oleanna_namrata

त्यस दिन अचानक दर्शकदीर्घाको एउटा कुनामा (त्यही मेरो टिकट परेको रहेछ|) उनलाई देख्दा म अवाक् भएकी थिएँ | खुसीको सिमा नै रहेन | पर्दामा देखिए भन्दा अलिक बढी नै राम्री पनि लागिन् मलाई उनी | मलाई उनीसंग भलाकुसारी गर्ने मन भो तर, उनको दायाँ बायाँ हेर्ने र त्यहाँको माहौल बुझ्ने तत्परता कम देखे पछी म केहि हच्किए | यधपी, कलाकार हुन् हामीले उनीहरुको काम नहेरिदिए, इज्जत र माया नदिए कसरी उनीहरुको हौसला बढ्छ त भन्ने सोचाइले मैले सुटुक्क उनीसंग अटोग्राफको लागी अनुरोध गरें | आखिर कलाकार र उनको फ्यानबीच संचार गर्ने अरु बाटो नै के पो छ र ?

तर बिडम्बना, मेरो यो प्रयास असफल भयो |

अब यस्तो परिस्थितिमा कस्तो महशुस हुन्छ हामी आफै बिचार गरौ त ! साच्चैं भन्नु पर्दा मलाई आत्मग्लानी भयो | व्यर्थै अटोग्राफ मागी टोपलेछु भन्ने पश्चाताप पनि | खैर, जे होस् उनी नाटककै रिहर्शलको क्रममा भएकीले होला भन्ने अनुमान गरी चित्त बुझाएँ | यधपी, मलाई आज पनि उनी त्यत्तिकै सुन्दर लाग्छिन | अनि उनको फिल्म,म्युजिक भिडियो पनि म उत्तिकै मग्न भएर हेर्नेछु |

namrata_shrestha_bell

अँ,यो घटना पछी भने नेपाली सेलिब्रेटीहरुको मानसिकता बारे मलाई आफ्नो दिमागले भ्याएसम्म सोच्न मन लाग्यो | म कुनै रंग पत्रकार त हैन जसको ठुला स्टारहरुसंग राम्रो सम्बन्ध होस् | म त एक सामान्य दर्शक र एक आमनागरिक हूँ जो नेपाली कलाजगत अन्य जत्तिकै माथि उठोस् भन्ने चाहन्छ, जसले कहिलेकाही सुटिंगस्पट र त्यस्तै कार्यक्रम देखि बाहेक स्टारहरुलाई काँचको पर्दामा मात्र देखेको छ | तैपनि कलाजगतको पक्षहरुप्रति बढी नै चासो राख्ने हुनाले यस्ता कुराहरु सोच्न अभिप्रेरित हुन मन लाग्यो अनि लाग्यो कतै यस्तै साना तिना कुराहरुले नै  हाम्रा सेलिब्रेटीको क्रेजलाई घटाई रहेका छैनन् ?

हाम्रो कलिवुड केहि बढी नै बलिवुडबाट प्रभावित भएको सत्यलाई मन्थन गर्दा उतातिरको थोरै प्रसङ्ग झिक्न मनलाग्यो | बलिवुडमा बादशाह उपनाम पाएका शाहरुख खानको मिजासिलो ब्यबहार मिडिया मार्फत कसैसंग पनि छिपेको छैन | उनको अन्तर्वार्तामा प्रस्तुत हुने शैली,ठट्टा गर्ने बानी,रोमान्टिक बन्ने कला वाहवाही बटुल्ने खालको छ | आफ्नो फ्यानहरुलाई भेट्दा उनि कस्तो सौहार्दता ब्यक्त गर्छन हामीले मिडियामा देखेकै छौं |

त्यस्तै, म जब अमिताभ बच्चनद्वारा संचालन हुने केबिसी हेर्छु उनको प्रस्तुति देखेर मन्त्र मुग्ध हुन्छु | अमिताभ बच्चन किन र कसरी आज "अमिताभ बच्चन" कहलिए ,यो कुरा बुझ्न केबिसीमा उनको दर्शक प्रतिको ब्यबहार र प्रस्तुति हेरे पुग्छ | जब उनले  दर्शकबाट आएको आत्मीय प्रतिक्रियाहरुलाई आफ्नो दमदार आवाजबाट सम्मानजनक स्वीकारोक्ति गर्छन तब त्यहिँ निर रहस्य खुल्छ उनी किन आजका "अमिताभ बच्चन" भए भनेर !

यता नेपाली स्टारहरुको नियति हेर्दा केहि अपवाद बाहेक यी कुराहरु लागु भए जस्तो लाग्दैनन् | कोही अनावश्यक प्रचार्रात्मक जस्ता लाग्छन भने कोही सामाजिक ब्यबहार देखि अनविज्ञ जस्ता | ‘रजतपट’ जस्ता फिल्मी खबर पस्किने कार्यक्रममा एक ताका आफ्नो फिल्मको प्रचारको लागी देशभरका हलमा पुगेका केहि कलाकारहरुको समुहले हलको छतमा बसेर तल दर्शकहरुलाई चकलेट छरेको दृश्य देख्दा पनि बैराग नै लागेको थियो | त्यहिँबाट प्रस्ट हुन्छ, नेपाली कलाकारहरुको दरिद्र मानसिकता |

उसै पनि नेपाली दर्शकहरुको धेरै हिस्सा हलिवुड, बलिवुड, कोरियन तिर नै बढी आशक्ति राख्छन | मेरा कतिपय साथीहरुको माझमा नेपाली कलाकारहरुको चर्चा गरे भने चिन्दिन भनि पन्छिनेहरु पनि छन् | त्यसमाथि हलिवुड बलिवुडक सेलिब्रेटीहरुले झैँ अलगै लस एन्जल्स, जुहू बीच, बान्द्रा जस्ता अलग ठाउमा बस्ने बातावरण पनि उनीहरुलाई छैन | आखिर दैनिक जीवनयापनको क्रममा यो कान्तिपुरी नगरीमा आमनागरिकको सामुन्ने त पर्नु परिहाल्छ | अझ फरक स्वाद र स्तरीयता पस्किन अझै धेरै कसरत गर्नै बाँकी हाम्रा कलाकारहरुको मिडियामा आउने खबर र यस्ता अदुरदर्शी कामहरुले कसको हानि नोक्सानी होला त्यो हामीले उनीहरुलाई बताइरहनु पर्ला र?

कलाकारहरु राष्ट्रका गहना हुन् त्यसैले उनीहरुको कदर गरिनुपर्छ भन्ने नाराले मात्र कोही पनि ठुलो हुदैन | मानिसहरु आफ्नो कर्म र ब्यबहारबाट ठुलो हुने सत्य कोही कसैबाट छिपेको छैन | तसर्थ बेलैमा यस्ता पक्षहरुको बिचार गरी आफुलाई सुधार्नुमै आफ्नो अनि कलाजगतकै भलो हुने कुरा सोच्नु राम्रो हुनेछ | (फोटो साभार – विभिन्न अनलाइन मिडिया)

3 thoughts on “नेपाली कलाकारहरुको दरिद्र मानसिकता

  1. Ramri chin yo naaeeka , malai mann par ne actress hun
    God sanga yahi bhanchu ki uha ko life sukhi sanga bitirahoss

Leave a Reply

Your email address will not be published. Required fields are marked *