प्रचण्डको नयाँ घरमा स्वीमिङपुल छैन रे

स्वीमिङपुलको कुरा पनि भएको थियो र?

इन्डियन एक्सप्रेसले लेखे अनुसार "टेबल टेनिस हल" चाहिं छ रे!  (फेरी रे कै कुरा – किनकी लामो प्रेस बिज्ञप्तिमा जति हल्ला भएको भए पनि टेबल टेनिसहलको कुरा उल्लेख छैन )

prachanda_residence_lazimpat

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलै भए पनि आफ्ना निजी सचिवमार्फत् प्रेस विज्ञप्ति जारी गर्न आबश्यक  ठान्नु सकारात्मक कुरा नै मान्न सकिन्छ । माघ २१ गते शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा "सम्पूर्ण करसहितमासिक १ लाख ३ हजारको भाडादरमा" लिइएको बताइए पनि पार्किंङको सुविधा बाहेक अन्यके कस्तो सुबिधा छ र सो घरको धनीको बारेमा केही पनि बताइएको छैन ।

प्रचण्डको नयाँ निवासको बारेमा लेखिएका कुरा हरुलाई "गोयवल्स शैलीको प्रचार" भनेर  "सत्य तथ्य नवुझी अन्दाज र नियतको आधारमा त्यस्ता भ्रमपूर्ण समाचार प्रचार–प्रसार" नगर्न अनुरोध गरिएको यस विज्ञप्ति भित्र कति तथ्य लुकेका छन् पाठकहरुलाइ नै छोडी दिउं । प्रेस विज्ञप्तिको पूर्ण पाठ :

 

मितिः २०६८/१०/२१
प्रेस विज्ञप्ति

महान् जनयुद्ध, जनआन्दोलन र शान्ति—प्रक्रियाको नेतृत्व गर्दै आउनुभएका एकीकृत नेकपा(माओवादी)का अध्यक्ष क.प्रचण्डको निजी निवास नयाँबजारबाट लाजिम्पाट सरेपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरुमा सर्वसाधारणलाई भ्रम पर्ने गरी आएका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

सर्वप्रथम हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्ति प्रक्रियामा आएदेखि नै काठमाडौंका विभिन्न र पछिल्लो समयमा नयाँबजारस्थित एक घरमा भाडामा बस्दै आउनुभएको कुरा सबैलाई जानकारी भइसकेको विषय हो । उक्त घर सुरक्षा संवेदनशीलताका दृष्टिले उपयुक्त नभएको, विदेशी कुटनीतिक नियोग र विशिष्ट अतिथिहरु आउँदा समेत सडकमै गाडी पार्कीङ गरी हिंडेर जानुपर्ने तथा जनतालाई पर्ने असुविधाले गर्दा तत्काल अन्यत्र राम्रो स्थान र घरमा सर्न विभिन्न पक्ष, र शुभचिन्तकहरुबाट बारम्बार सुझाव आइरहेको थियो । यस सम्बन्धी तात्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरीजाप्रसाद कोइरालाले सुरक्षा संवेदनशीलताका कारण नयाँ र फराकिलो घर खोज्न अनुरोध गरेको कुरा स्मरणीय छ। त्यसपछि करिब दुई वर्ष निरन्तर त्यस्तो घरको खोजी भईरहेको अवस्थामा पार्टी, शुभचिन्तक र सचिवालय समेतको पहलमा लाजिम्पाटमा घर भेटिएपछि उक्त घर उपयुक्त हुने ठानी सरिएको कुरा पनि जानकारी गराउन चाहन्छौं ।

अहिले उक्त घर किनेको तथा निवासमा संभ्रान्तवर्गले उपयोग गर्ने विभिन्न सुविधा र स्वीमिङपुलसमेत भएको भनी प्रचारित विषय गम्भीर भएको हामीले ठानेका छौं । सम्पूर्ण करसहितमासिक १ लाख ३ हजारको भाडादरमा लिइएको हालको निवासमा तुलनात्मक रुपमा सुरक्षा, पार्किंङको सुविधाभएको स्पष्ट पार्न चाहन्छौं । तर संभ्रान्तको जस्तो स्वीमीङ पुललगायतका सुविधा भएको भनी गरिएको गोयवल्स शैलीको प्रचारमा गम्भीर षड्यन्त्रको गन्ध हामीले पाइरहेका छौं । यसलाई क.प्रचण्डलाई कुनै न कुनै रुपमा असुरक्षित राख्ने तथा आम कार्यकर्ता र जनपंक्तिमा भ्रम श्रृजना गर्ने षड्यन्त्रको कडीको रुपमा हामीले लिएका छौं ।

श्रद्धेय अध्यक्ष र परिवारको बारेमा जसरी प्रचार गरिएको छ त्यो निराधार, कपोलकल्पीत र पुर्वाग्रहपूर्ण छ । क. प्रचण्ड निरन्तर जनताकै बीचमा रहेर क्रान्तिको नेतृत्व गर्नुभएको र अहिले पनि जनताकै निम्ति संघर्षरत रहनुभएको तथ्य स्पष्ट पार्न चाहन्छौं । तसर्थ त्यस्ता कुप्रचारबाट भ्रमित नहुन आम पार्टी कार्यकर्ता र सर्वसाधारणमा अपील गर्दछौं । साथै सत्य तथ्य नवुझी अन्दाज र नियतको आधारमा त्यस्ता भ्रमपूर्ण समाचार प्रचार–प्रसार र प्रकाशन नगरिदिनुहुन र सत्य तथ्यलाई उजागर गर्न सहयोग पुर्‍याउन पनि सम्पूर्ण मिडियाकर्मी साथीहरुमा अनुरोध गर्दछौं ।

नेपाल अहिले इतिहासको अत्यन्तै संगीनपूर्ण संक्रमणमा भएको बेला गरिने यस्ता प्रचारहरु अत्यन्तै संवेदनशील हुने भएकाले यस संवेदनशीलतालाई ख्याल गर्न पनि हामी सबैमा अनुरोध गर्दछौं ।

समिर दाहाल
निजी सचिव
अध्यक्ष, एनेकपा (माओवादी)
लाजिम्पाट, काठमाडौं।