शिवरात्रि को परिचय

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशिका दिन शिव उत्पत्ति भएको रात मानेर शिवरात्रि मनाइन्छ । शिवजिको पुजा गरेर मनाइने शिवरात्रिलाइ पुराणमा चार मुख्य रात्रिहरु मध्येको एक रात्रि भएको उल्लेख छ । अरु तिन रात्रि हरु कालरात्रि, मोहरात्रि, र सुखरात्रि हुन।

दु:ख पाएका र कष्टपुर्ण जिवन बिताइरहेका प्राणिहरुको हृदयमा धर्मको उदय गराउने शिवरात्रिको दिन शिवको अति प्यारो दिन पनि मानिन्छ । तेसैले व्रतहरुमा शिवरात्रिको ब्रतलाइ सर्वाेत्तम व्रत मानिन्छ भने यस पर्वलाइ पर्वको राजा मान्ने पनि प्राचिन जनबिश्वास छ । यस दिन शिवभक्तहरु स्नान गरि शुद्ध भएर शिव मन्दिरमा पुजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तुहरु दुध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यसरि शिवरात्रि मनाउँदा भोग र मोक्ष दुवैको प्राप्ति हुने बिश्वास गरिन्छ ।

शिवरात्रिका दिन उपवास बसेर “ऊँ नमः शिवाय” मन्त्र जप्दा सर्वसिद्ध भइ यमलोक जानु नपर्ने पनि धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पुजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा किर्तन गर्नु शिवरात्रि पुजा अर्चनाका प्रमुख अङ्ग मानिन्छन् । यस पर्वमा हिन्दु धर्मावलम्बिहरुले पशुपति र देशका अन्य शिवालयहरुमा भगवान शिवको पुजा र आराधना गर्ने प्रचलन छ। तेस्तै, केदारनाथको शिरको रुपमा पुजिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि शिवरात्रिमा घुइँचो लाग्ने गरेको छ । अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने डोलेश्वरमा मध्यरातमा मन्दिरमा विशेष पुजा गरेपछि बिहान ४ बजेदेखि सर्बसाधारणको दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको हुन्छ ।

पशुपति मन्दिरमा शिवरात्रि

शिवका विभिन्न १२ ज्योतिर्लिङ्गहरु मध्ये पशुपतिनाथ एक भएको हुनाले पशुपतिको भिन्दै महत्व रहेको छ। शिवरात्रिमा पशुपति मन्दिरमा दर्शन, उपासना तथा पुजा गर्दा वुद्धि र विवेकको अभाव तथा मोह र मायाको अन्धकारमा रहि बन्धन वा पाशमा रहेकालाइ मुक्ति मिल्ने विश्वास गरिन्छ। शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारत लगायत विभिन्न देशबाट साधुसन्तहरु आउने गर्छन।

नेपालका बिभिन्न स्थान तथा भारतका बिभिन्न स्थानबाट आएका साधुसन्त मन्दिरको आसपास क्षेत्र, श्लेषमान्तक, राम मन्दिर, अन्नपूर्ण भण्डारलगायत स्थानमा धुनि जगाउँने, शक्तिको पुजा गरि खरानि घस्ने तथा गाँजा खाँदै निश्चिन्त भइ जीवन जगतको चिन्तन तथा परमात्माको साक्षात्कार गर्छन। त्यसका साथै उनिहरु विभिन्न भजन किर्तन पनि सहभागि हुन्छन्।